भारतलाई चीनको झापड


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

कश्मिरको उरीमा भएको आतंकवादी हमलामा १९ सैनिक मारिएपछि पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ। चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै देश र व्यक्तिलाई आतंकवादसँग जोड्नु गलत हुने बताएको हो ।

गोवामा भएको ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीको प्रतिरोध गर्दै चीनले कुनै एक मुलुक र व्यक्तिलाई आतंकवादसँग जोड्न सही नहुने जनाएको हो । चीनले आतंकवादविरुद्ध लड्ने क्रममा पाकिस्तानले गरेको बलिदानी र त्यागलाई पनि ध्यानमा राख्नुपर्ने बताएको छ ।

आइतबार मोदीले गोवामा ब्रिक्स सम्मेलनका क्रममा पाकिस्तानको नाम नलिई उसलाई आतंकवाद जन्माउने मुलुकको संज्ञा दिएका थिए । मोदीले ब्रिक्समा पाकिस्तानबारे दिएको कडा अभिव्यक्ति दिएको एक दिनपछि चीनको विदेश मन्त्रालयको यस्तो प्रतिक्रिया आएको कारोबारमा खबर छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्याङ्गले मोदीको भनाईबारे सोधिएको प्रश्नमा भने, ‘आतंकवादविरुद्ध चीनको अडान पुरानै अवस्थामा कायम छ । हामीले पहिले पनि आतंकवादलाई कुनै व्यक्ति या देशसँग जोड्ने कुरामा विरोधी थियौं र, आज पनि त्यही अडानमा कायम छौं ।’

हुआले आफूहरुले आतंकवादका सबै रुपको विरोध गरेको बताए । ‘हामी आतंकवादका सबै रुपको विरोध गर्छौं। चीन र पाकिस्तान सदाबहार मित्र हुन्’, उनले भने, ‘भारत र पाकिस्तान दुबै आतंवादका शिकार भएका छन्। पाकिस्तानले आतंकवादविरुद्ध धेरै त्याग गरेको छ र धेरै गुमाएको पनि छ । विश्वयले त्यो कुरा स्वीकार्न सक्नुपर्छ ।’

भारत र पाकिस्तानबीचको विवाद शान्तिपूर्णरुपमा समाधान गरिनुपर्ने हुआको भनाई थियो । ‘जहाँसम्म भारत र पाकिस्तानबीचको तनावको कुरा छ । दुबै देश हाम्रा छिमेकी भएकाले उनीहरुले विवाद शान्तिपूर्ण तरिकाबाट समाधान गर्नु जरुरी छ । यसले दुबै देशलाई फाइदा हुनेछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com