महिला नेत्रीको माग, महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

 

चैत १९, काठमाडौं । महिला नेत्रीहरूले महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन्। विभिन्न राजनीतिक दलका भ्रातृ संगठनहरूको संयुक्तै संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएको हो। दिनहुँ बालिका बलात्कारका घटना सार्वजननिक भइरहेका बेला घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनका लागि राज्य पक्ष गम्भीर नबनेको भन्दै नेत्रीहरूले तत्काल विद्यमान कानुनमा परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। विश्वका कयौँ लोकतान्त्रिक मुलुकले महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजायको व्यवस्था कानुनमा गरेको उल्लेख गर्दै नेपालमा पनि त्यही किसिमको कानुन बनाउनुपर्नेमा अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०की अध्यक्ष अमृता थापाले बताइन्। नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बालिका बलात्कृत हुने, बोक्सीको आरोपमा महिलामाथि गरिएको दुरव्यवहारका घटनालगायत महिला हिंसाका घटना दैनिकजसो आइरहँदा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्। उनले बलात्कार जस्तो जघन्य अपराधका अपराधीलाई मृत्युदण्डको व्यवस्था कानुनमा गर्नुपर्नेमा जोड दिइन्। अन्तर पार्टी महिला सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरले राजनीतिक संरक्षणबाट महिला हिंसाका अपराधीले उन्मुक्ति पाउने गरेकाले पनि हिंसाका घटना नियन्त्रणमा आउन नसकेको भन्दै कडा कानुन बनाउन माग गरिन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com