‘बुधबारदेखि कोटेश्वर पूर्व गाडी चलाउँदैनौंः व्यवसायी, सरकार-‘रुट परमिट खारेज गर्छौं’


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

सुधिर भण्डारी

मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले बुधबारदेखि अनिश्चितकालिन सवारी नचलाउने चेतावनी दिएको छ। समितिले सोमबार बिहान समेत १ घण्टा सवारी बन्द समेत गरेको थियो।

यातायात व्यवस्था विभागले यात्रुको चाप अध्ययन नगरी रुट परमिट दिएकोले यो तुरुन्त खारेज गर्नुपर्ने कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले बताए।

गाडी थप्नुभन्दा पहिले आफूहरूसँग समन्वय नगरेको र राम्रा बाटोमा मात्र गाडी सञ्चालन गरेको उनको आरोप छ।

यातायात व्यवस्था विभागले पैसा खाएर जथाभावी रुट परमिट दिएको त्वानाबासुले आरोप समेत लगाए।

व्यवसायीले गाडी चलाउन बन्द गरे उनीहरूको रुट परमिट खारेज गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले चेतावनी दिए।

‘हामीले प्रहरी प्रशासन, गृह मन्त्रालय लगायत सबै निकायमा भनिसकेका छौं, यो विषयमा प्रधानमन्त्री कार्यालयमा आज बिहान एक चरण मिटिङ पनि बसिसकेको छौं, उनीहरूले गाडी नचलाए वा अवरोध गरे भने रुट इजाजत खारेज गर्छौं’ उनले भने।

पुराना समितिहरूले गाडी नचलाएको अवस्थामा आफूहरूले नै दुर्गममा गाडी चलाउन तयार भएर बसेको मयूर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले बताए।

‘हामीसँग २४ वटा मात्र नभई पहाडी बाटोमा चल्न सक्ने क्षमताको अरु धेरै गाडी छन्, उनीहरूले गाडी बन्द गरे भने दुर्गमका जनतालाई सेवा दिन हामी तुरुन्त गाडी पठाउँछौं’ उनले भने ‘स्थानीय र प्रहरीको सहयोगले हामीलाई धेरै हौसला मिलेको छ, स्थानीयहरूले समेत हामी ‘स्कर्टिङ’ गर्न तयार छौं। तपाईहरू गाडी चलाउन नरोक्नुहोस् भन्नु भएको छ।’

मयूर यातायात अब यहाँ मात्र नभई नेपालभर सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए।

मयूर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी सञ्चालनमा ल्याएको थियो। यी बस चक्रपथ परिक्रमा गर्दै बनेपासम्म गुड्छन्।

यी गाडीमा वाईफाई तथा टिभीको सुविधा समेत रहेको छ। त्यस्तै, गम्भीर अपांग  तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा दिइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com