भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिन्छ: गृहमन्त्री बादल


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरिने बताए ।

‘यहाँ तस्करको ठूलो नेक्सस छ । तस्करको प्रशासनसँग सिधा सम्बन्ध छ’, उनले भने, ‘राजनीतिक दलका नेताकै उनीहरुले संरक्षण पाएका छन् । कानुनको रक्षा गर्ने ठेकेदार पनि तस्करसँग जोडिएका छन् ।’

देशै रेमिट्यान्सले चलिरहेको उल्लेख गर्दै उनले मुलुकमा ५० प्रतिशत कालो बजारीले हिस्सा ओघटेको बताए । देश लुट्नेहरु देश बाहिर मात्रै नभई देशभित्रै रहेको बताउँदै उनले भने, ‘विभिन्न नाकाहरुबाट तस्करहरुले देशलाई लुटिरहेका छन्।प्राकृतिक स्रोत र साधन मात्र होइन, मानव तस्करी पनि भइरहेको छ । हामीलाई लुट्नेहरु देश बाहिर मात्रै होइन, देशभित्रै पनि छन् ।’

कार्यक्रममा बोल्दै मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन तस्करी भइरहेको पनि बताए।

सुनसँग एयरपोर्टबाट विदेशी मुद्रा पनि तस्करी भइरहेको मन्त्री थापाले बताए। खुला सिमानाका कारण खर्बौंको तस्करी भइरहेका उनको भनाइ थियो। त्यस्तो तस्करीमा प्रशासनले सहयोग गरेको र नेताहरुले संरक्षण दिइरहेको उनको आरोप थियो।

केही समूहहरु देशमा जात र धर्मको कुरा निकालेर विखण्डन ल्याउन सक्रिय रहेको मन्त्री थापाको आरोप छ। त्यस्ता गतिविधिमा संलग्नहरुलाई निस्तेज बनाउन गृह प्रशासन सुधारको कार्ययोजना ल्याइएको मन्त्री थापाको भनाइ छ।

भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिने पनि मन्त्री थापाले बताए।

जेलको प्रसंगमा उनले त्यहाँभित्र ठूलो भ्रष्टाचार र अपराध रहेकाले सुधार योजना अघि बढिसकेको बताए। प्रहरीभित्रको विकृत्ति र सिन्डिकेट तोडेरै छाड्ने उनले प्रतिबद्धता जनाए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com