क्रिकेट मैदानका लागि धुर्मुस-सुन्तलीलाई चाहिएजति जग्गा दिन्छौँ : प्रमुख दाहाल


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई जग्गा उपलव्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गाको खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलव्ध गराउने  घोषणा गरेकी हुन्।

‘भरतपुर महानगर सबै सम्भावना भएको क्षेत्र हो’, दाहालले सोमबार पत्रकार सम्मेलनमा भनिन्, ‘चितवन आउन आव्हान गर्छु, महानगरले सबै खाले सहयोग गर्छ।’ धुर्मुस-सुन्तली फाउण्डेसनले प्रदेशन ३ का विभिन्न क्षेत्रमा रंगशालाका लागि जग्गा खोजी गरिरहेको छ।

प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलव्ध गराउन महानगर तयार रहेको बताइन्। उनले आवश्यक आर्थिक र भौतिक सहयोग गर्न समेत तयार रहेको भन्दै सोमबार नै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउन्डेसनलाई पत्राचार गरिने उल्लेख गरिन्।

चितवन रंगशाला भएको ठाउँमा क्षेत्र विस्तार गरेर क्रिकेट रंगशाला बनाउन सकिने महानगर प्रमुख दाहालको भनाइ छ। तत्कालिन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन प्याकेज घोषणाका क्रममा उक्त रंगशालाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेका थिए। त्यसमा १९ लाख रुपैयाँ मात्रै खर्च भएको र अरु रकम फर्किएको थियो।

अहिले भरतपुर महानगरले उक्त रंगशालाका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको जनाएको छ। यसअघि चितवनको रत्ननगर स्थित टिकौली चौरमा क्षेत्रिय रंगशाला निर्माण गर्न भनेर मन्त्रीबाटै शिलान्यास गरिएको काम समेत सफल हुन सकेको छैन। चितवन जिल्लामा खेलकुद मैदानको भने अभाव छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com