छोरालाई आईरनले डाम्ने सरला मानसिक बिरामी


प्रकाशित मिति : चैत्र १९, २०७४ सोमबार

आफ्नो छोरा सिम्पललाई आइरनले डामेर घाइते बनाएको भनेर विराटनगर ३ बरगाछीकी सरला काफ्लेको सर्वत्र आलोचना भयो । उनको विरुद्धमा नागिन आमा, राक्षस आमा, आमाको नाममा कलंक जस्ता शिर्षकमा समाचारहरु बने । कुनै पनि संचारमाध्यमले घटनाको गहिराई बुझ्ने प्रयास गरेन । जसबाट एउटा मानसिक बिरामीले गरेको अमानवीय कार्यमाथि निरन्तर प्रहार भइरह्यो ।

त्यसबाट स्वयं बिरामी महिला, अवोध बालक र परिवारमाथि थप पीडा भएको भन्दै उनको माइती पक्षले गुनासो गरेका छन् । कुनै पनि आमाले आफ्नो सन्तानलाई त्यस्तो निर्दयी व्यवहार गर्न नसक्ने भन्दै काफ्लेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ । घटनापछि सरलाको बुवा मातृका पौडेल समेतले शनिबार विराटगनरमा संचारकर्मीहरुसँग आफ्नी छोरी मानसिक विरामी भएकोले त्यस्तो घटना हुन गएको स्पष्ट पारेका छन् ।

सरला पढाइमा उत्कृष्ट विद्यार्थी थिएन । मेजर अग्रेंजीमा मास्टर डिग्री गरेकी सरला एउटा सन्तान भएपछि पारिवारिक तनावका कारण डिप्रेसनको विरामी भएको बाबु देवी प्रसादले बताए । उनले भने, ‘मेरी छोरी साह्रै असल र पढ्नमा तेज थिइन्, डिग्री पास गरेको छु भन्दै छोरी माग्न कुटुम्ब आएपछि हामीले शिक्षित परिवारसँग सम्वन्ध जोडिने भयो भन्दै छोरी दियौं । तर झुट बोलेका रहेछन् र पनि समस्या थिएन । एउटा सन्तान भएपछि ज्वाई र सम्धी सम्धिनीको पुरै व्यवहार फेरीयो । छोरी पनि बिरामी पारिदिए ।’ सन्तान हुनु अघिसम्म सरला र उनका पति बिक्रम काफ्लेबीच सुमधुर सम्वन्ध थियो । जब छोरो जन्मियो त्यसपछि बिक्रम घर बाहिर रमाउन थाले । महिनौंपछि कहिलेकाही घर पुग्ने र श्रीमती तथा छोरालाई हेरचाह नगर्ने गरेपछि पारिवारिक तनाव बढेको माइती पक्षले दावी गरेको छ । श्रीमतीलाई हेरचाह नगर्ने, संगै नबस्ने आदी हुन थालेपछि सरला डिप्रेसनमा परिन् ।

उनलाई विराटनगरका मानसिक चिकित्सक रजन थापाले परिक्षण गरेर नियमित सेवन गर्ने औषधी प्रेस्क्याप गरेका थिए । उनले तीन वर्षदेखि औषधि सेवन गर्दै आएको खुल्न आएको छ । पछिल्लो समय बिक्रम सरलालाई परिवारसँगै विराटनगरको घरमा छोडेर काठमडौं बस्न थालेका थिए । आर्थिक स्रोत नभएकी सरला बस्ने घरको बत्ति काटिएको थियो भने खाने पानीको धारा र टेलिफोनको लाइन पनि काटियो । दैनिक औषधी सेवन गर्नु पर्ने सरलालाई औषधी खुवाईदिने सहयोगी घरमा कोही थिएनन् । माइतीबाट बुवा देवीप्रसादले खाद्यान्न र लत्ता कपडा लगायतको सहयोग गर्दै आएको सरलाका दाजु पुरुषोत्तम थपलीयाले बताए ।

पतिसँग मानाचामल मुद्दा चल्दै गरेको बखत बिरामी सरलाले छोरालाई आइरनले डामेको घटना सार्वजनिक भएको हो । बुवा देवीप्रसादले भने, ‘यो घटना साह्रै हृदयविदारक छ र सामान्य मानिसले गर्नै नसक्ने खालको छ । यसबाट हामी अत्यन्त दुःखी छौं । मेरी छोरी घरेलु हिंसाको शिकार भइन् । पछिल्लो घटनापछि त उनी थप पीडित हुन पुगिन् भने परिवार पनि पुरै पीडामा परेका छौं ।’ उनले सरला निर्दयी आमा नभएको बरु डिप्रेसनले गर्दा त्यस्तो घटना भएको संचार माध्यमलाई बुझिदिन आग्रह गरे । उनले भने, ‘मेरी छोरी बिरामी नहुँदासम्म यस्ती थिइनन् तर आज उनीमाथि ठुलो आरोप लागेको छ । उपचारका लागि अस्पताल बस्नु पर्ने व्यक्ति अहिले हिरासतमा छन् र आरोप पनि उनैले खेप्नु परेको छ । यसमा छोरीको भन्दा पनि छोरीलाई मानसिक विरामी बनाउने परिवार दोषि हुनु पर्ने हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com