नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर सोमबार अमेरिकाबाट टोली जाँदै


प्रकाशित मिति : चैत्र १८, २०७४ आईतबार

नेपालबाट चोरी भई न्युयोर्क ल्याइएका झण्डै ८ सय बर्ष पुराना दुई मूर्ति नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्न न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टका प्रमुख क्युरेटर जोन गाई सहितको टोली सोमबार नेपाल जाने भएको छ । म्युजियमले बुद्ध र उमामहेश्वरको मूर्ती नेपाललाई फिर्ता दिन मार्चको पहिलो साता एक सहमति गरेको थियो ।

नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो । मूर्ति फिर्ता लिएर महाबाणिज्यदूत मरासिनी र मेट्रोपोलिटन म्युजियम अफ आर्टका विशेषज्ञ जोन गाई नेपाल जान लाग्नुभएको हो । म्युजियमले आफ्नै खर्चमा मूर्तिहरु नेपाल लैजानका लागि सबै बन्दोबस्त गरिसकेको छ ।

टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र अर्को यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ ।

बरिष्ठ कलाविद् लैनसिंह बाङदेलले सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन इमेज अफ नेपाल पुस्तकमा उल्लेख भएको उमा महेश्वरको मूर्ति न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा सन् १९८३ मा नै कसैले किनेर दान गरेको थियो । बुद्धको पूर्णकदको मूर्तिपनि कुनै दाताले किनेर म्युजियमलाई दान गरेका थिए ।

ती मूर्तिहरु चोरिएको रहेको थाहा हुनासाथ प्रदर्शनबाट हटाइएका थिए । मूर्तिहरु नेपालमा लगेर अप्रिलको पहिलो साता नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । महाबाणिज्यदूत मरासिनीले म्युजियमको सदासयताका लागि धन्यवाद दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com