भारतमा बर्डफ्लु देखिएपछि नेपालमा पंक्षीजन्य वस्तु आयातमा रोक लगाउने तयारी


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, रुपन्देही भारतीय क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालका दक्षिणी सीमावर्ती क्षेत्रमा पक्षी ओसारपसारमा निगरानी बढाइएको छ।

सुनौलीदेखि ३ किलोमिटरको दूरीमा रहेको महाराजगञ्ज जिल्लामा बर्डफ्लु देखिएकाले रुपन्देहीका सीमावर्ती क्षेत्रमा पंक्षीजन्य वस्तु आयात गर्न रोक लगाउने तयारी गरिएको छ। भैरहवामा शनिबार बसेको जिल्ला एभिएन एन्फुल्जा प्रविधिक संयोजन समितिको बैठकले सीमाक्षेत्रमा भइरहेका पक्षीको ओसारपसारलाई निगरानी गर्ने र भारतबाट नेपाल ल्याइने मासु तथा अण्डामा कडाइ गर्ने निर्णय गरेको छ।

सुनौली नाकाबाट हुने पंक्षीजन्य वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको बैठकका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए।

रुपन्देहीमा २०६७ सालपछि बर्डफ्लु नदेखिएको तर सीमाक्षेत्रबाट नेपाल भित्रिएमा ठूलो क्षति हुने भएकाले निगरानी थालिएको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीले जनाएको छ।

कखुरा वा अन्य पंक्षीमा बर्डफ्लु भए लक्षणहरुले पनि चिन्न सकिने भएकाले सावधान भएर प्रयोग गर्न सकिने पशु सेवा कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा। विनयकुमार कर्णले बताए। कर्णले कुखुरा र हाँसको मासु प्रयोग गर्दा श्वासनली र फोक्सोको भाग नखाने तथा राम्ररी पकाएमा बर्डफ्लु सर्ने सम्भावना कम हुने पनि जानकारी दिए।

भारतबाट दिनहुँ लाखौं मूल्यका कुखुराका चल्ला तथा अण्डाहरु अवैध रुपमा रुपन्देही हुँदै नेपाल भित्रने गरेका छन्।

रुपन्देहीका बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका लगायतका ठाउँ बर्डफ्लुको उच्च जोखिममा रहेको जनाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com