उत्खननको पर्खाइमा तामाखानी


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, बागलुङ । तमानखोला गाउँपालिका–६ मा रहेको तामाखानी उत्खननको पर्खाइमा छन् । नर्जाखानी, भित्रिवन र पात्ले गाउँ नजिक अहिले पनि तामाखानीका सुरुङ र अवशेष बाँकी छन् ।

विसं १९८१ मा बन्द भएका तामाखानी उत्खनन हुन सकेका छ्रैनन् । तत्कालीन सरकारले कर ९भेजा उठाउने० चल्ती बसालेपछि स्थानीयवासीले तामा निकाल्न छोडेका थिए । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गर्थे ।

स्थानीय ७४ वर्षीया दिलबहादुर छन्त्यालले श्री ३ चन्द्र शम्शेरको पालाबाट खानी खन्न बन्द भएको बताए । उनकाअनुसार त्यस ताका छन्त्यालको मुख्य पेशा नै खानी खन्ने थियो ।

‘बाजे, पुर्खाले माटो सुँधेर खानी पत्ता लगाउँथे’ उनले भने, “अहिले सबै हराएर गयो ।” तमानखोला क्षेत्रका थुप्रै ठाउँमा तामाखानी रहेको विष्णु आधारभूत विद्यालयका प्रअ ओमप्रसाद छन्त्यालले बताए । संरक्षण र उत्खनन हुन नसक्दा तामाखानीको अस्तित्व नै संकटमा पर्न थालेको उनको भनाइ छ ।

‘खोज, अनुसन्धान र उत्खनन गर्ने हो भने तामाखानीको प्रचुर सम्भावना छ’ उनले भने, “तर यसतर्फ कसैको ध्यान गएको छैन ।”

करबापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छोडेको बताइन्छ । राज्यलाई तिर्नुपर्ने करलाई त्यसबेला भेजा उठाउने भन्ने चलन रहेको प्रअ छन्त्यालले बताए । “हाम्रो ठाउँमा कर उठाउने जिम्मा सात गाउँका डिठ्ठा वर्षवीर छन्त्यालले लिएका थिए,” उनले भने, “कर बढी लागेपछि गाउँलेले खानी खन्नै बन्द गरेका थिए ।”

खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो । खानीमा महिनौं बिताएर उत्खनन गरेको तामाबाट स्थानीयवासीले जीविकोपार्जन गर्दै आएका थिए । उनीहरुले एक पाथीकच्चा पदार्थबाट साढे ७ सय ग्रामसम्म तामा निकाल्ने गर्थे ।

तामा उत्खननको जिम्मा छन्त्यालले लिए पनि त्यसलाई आफर लगाउने ९पगाल्ने० काम दलित र बेच्ने काम थकालीले गर्ने गर्थे । तामाखानी उत्खननका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने वार्ड नं ५ का अध्यक्ष कुलबहादुर छन्त्यालले बताए । पहिले खानी खनेका ठाउँमा एक किलोमिटर भन्दा लामा सुरुङ रहेको उनको भनाइ छ ।

‘सुरुङ रहेकै ठाउँमा उत्खनन गर्न सकिए तामाखानी भेटिन्छ’ उनले भने, “खोज, अनुसन्धानमा आधुनिक प्रविधि र यन्त्रको प्रयोग गर्नुपर्छ ।’

तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउन सके रोजगारी सिर्जनाका साथै ठूलो आर्थिक लाभ लिन सकिन्छ । नेपाली बजारमा अहिले पनि आयातित तामाका भाँडा बिक्रीवितरण भइरहेका छन् । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com