कुटपिटपछि घाइते वडाध्यक्षको मृत्यु


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

पाँचथरको हिलिहाङ गाउँपालिकाले स्थानीयको कुटपिटपछि घाइते भएका वडा नम्वर–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ।  सोही वडाको सम्मेवा–तम्फुवा–आम्मेजानी–आरुबोटे मोटरबाटोको सम्मेवा खण्डको अनुगमनको क्रममा स्थानीयले कुटपिट गरेका थिए।

कुटपिटपछि घाइते भएका तिम्सिनाको मृत्यु भएको थियो। गाउँपालिकाले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ। गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत घटनामा संलग्नहरुलाई कारबाहीको माग गरेको हो।  कुटपिटमा सोही वडाका भीमकुमार यक्पाङदेन र उनकै छोरा सुवासको पनि संलग्न भएको गाउँपालिकाले दाबी गरेको छ।

‘हिलिहाङ–७ निवासी भीमकुमार यक्पाङदेन र निजको छोरा सुवास यक्पाङदेनसमेतको आक्रमण, गाली गलौज र अभद्र व्यवहारबाट घाइते तथा पीडित भई शारिरीक तथा मानसिक पीडामा रही स्वास्थ्य स्थिति बिग्रँदै गएकोले फिदिमस्थित पाथिभरा अस्पतालमा उपचारर्थ ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको वि एण्ड सि अस्पताल लैजाने क्रममा इलामको नेपालटार पुग्दा दुःखद निधन भएकोले हिलिहाङ गाउँपालिका मर्माहत भएको छ’, विज्ञप्तिमा भनिएको छ। गाउँपालिका प्रवक्ता मदन गौतमले विकास निर्माणका संरचनाहरुको अनुगमन र निरीक्षण गर्ने क्रममा जघन्य आक्रमण भएको भन्दै निन्दा पनि गरेका छन्।

उनले जनप्रतिनिधिमाथि आक्रमण गर्ने र विकास विरोधी क्रियाकलाप  कसैले गर्न नहुने उनले बताए। तिम्सिनाको शुक्रबारे मृत्यु भएको थियो। सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई यक्पाङदेनले कुटपिट गरेका थिए।

तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका प्रहरी निरीक्षक तथा सूचना अधिकराी विज्ञान बस्नेतले बताए। बस्नेतका अनुसार तिम्सिनाले आफूलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गरेको उजुरीमा उल्लेख गरेका छन्। उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com