शिक्षक र कर्मचारीले तलब नपाएपछि क्याम्पसमा तालाबन्दी


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

चैत १७, बैतडी । जिल्लाको मेलौली बहुमुखी क्याम्पस काँडा मेलौलीका शिक्षक र कर्मचारीहरूले तलब नपाएको भन्दै सञ्चालक समितिलाई चाबी बुझाएका छन् । १८ महिनादेखि तलब नपाएको भन्दै उनीहरूले सञ्चालक समितिलाई चाबी बुझाएका हुन् । ‘भोको पेटले काम गर्न सकिँदैन भन्ने साथीहरूले आवाज उठाए, लामो समयदेखि तलब पाएका छैनौं । बाध्य भएर चाबी बुभाएका हौं ।’ क्याम्पस प्रमुख भवानीसिंह नायकले भने, ‘हामी तलब नपाएसम्म काम गर्न सक्ने स्थितिमा छैनौं ।’

लामो समयदेखि बिनातलब काम गर्दै आएकाले अब काम गर्न नसकिने शिक्षक दीपकराज भट्टले बताए । उनले भने, ‘विद्यार्थीहरूलाई पढाउन हामी सधैं आतुर छौं । तर हाम्रा समस्याबारे सम्बन्धित निकायले चाँडो ध्यान देओस् ।’

क्याम्पसमा कार्यरत शिक्षक र कर्मचारीहरूले काम नगर्ने भनेपछि क्याम्पसमा अध्ययनरत १ सय ५० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मणिलेक बहुमुखी क्याम्पसमा शिक्षा, व्यवस्थापन र विज्ञान विषयमा स्नातक तहसम्म पढाइ हुन्छ । ‘शिक्षक र कर्मचारीले काम नगर्ने भनेपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । शिक्षक र कर्मचारीहरूले तलब नपाउँदासम्म काममा नफर्कने जनाएका छन् ।’ मणिलेक माविका शिक्षक अर्जुन कुँवरले भने ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशवसिंह भाटले शिक्षकहरूलाई काममा फर्कन आग्रह गरेका छन् । ‘विभिन्न परिस्थतिका कारण समयमै तलब दिन सकिएन । यो साँचो कुरा हो । तर हामी छिट्टै व्यवस्थापन गर्छौं । हामीले शिक्षक कर्मचारीहरूलाई काममा फर्किन आग्रह गरिसकेका छौं ।’ उनले भने, ‘क्याम्पसका विद्यार्थीहरूको संख्या घट्दै गएपछि शिक्षक कर्मचारीलाई तलब खुवाउन गाह्रो परेको छ । हामी स्थानीय तहलगायत संघसंस्थाको सहयोगमा क्याम्पसमा देखिएको समस्या समाधानमा लागिपर्नेछौं।’

यस विषयमा मेलौली नगरपालिकाका नगरप्रमुख कृष्णसिंह नायकले क्याम्पसको भौतिक संरचना निर्माणको लागि नगरपालिकाले ५० लाख विनियोजन गरेको बताए । उनले भने, ‘भौतिक संरचना निर्माणका लागि हामीले ५० लाख विनियोजन गरिसकेका छौं । योभन्दा थप सहयोग गर्न सकिने अवस्था छैन।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com