सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डीपीएल आजदेखि


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । सहभागी ६ वटै टिमको एउटै लक्ष्य हो उपाधि । १५ दिनसम्म चल्ने डीपीएलले फेरि एकपटक घरेलु क्रिकेटको माहोल बनाउँदैछ ।

डीपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स खेल्दैछन् ।

धनगढीस्थित संघीय प्रहरीको मैदानमा हुने खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । टिम चौराहा गत संस्करणको च्याम्पियन बन्दा उसलाई भाग्य र कप्तानको रणनीतिले निकै साथ दिएको थियो ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहाले फाइनलमा विराटनगर किङसलाई हराउँदै च्याम्पियन बनेको थियो । पोहोर आफैँले हराएको विराटनगरको कप्तान यसपटक पारस छन् । गएको संस्करणमा बिराटनगरको कप्तानी गरेका शरद भेषावकर यो प्रतियोगितामा छैनन् । चौराहाको कप्तानी सोमपाल कामीको हातमा छ ।

यस्तै, काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको नेतृत्वमा छ । उद्घाटन खेलमा दुबै टिमका कप्तानले जितका लागि मैदानमा उत्रने बताएका छन् ।

धनगढीको मौसम र पिचको अवस्था कस्तो हुन्छ त्यो अनुसार खेल अगाडि नै के गर्ने भन्ने निर्णय हुने चौराहाका कप्तान सोमपालले बताए ।

मैदान केही सानो भएकाले हाइस्कोरको म्याच हुनसक्ने अनुमान गरिएको छ । यसपटकको पिच ब्याट्सम्यानलाई साथ दिनेगरि बनाइएको छ । दुई महिना लगाएर तयार पारेको पिचमा शुक्रबार परेको पानीले केही असर नगर्ने अनुमान क्युरेटर अजय पाण्डेको छ ।

उद्घाटन खेलमा चौराहाबाट खेलिरहेका युएईका कप्तान रोहन मुस्तफा सबैको नजरमा हुनेछन । अलराउण्डर मुस्तफाबाहेक चौराहामा त्यस्तै धेरै अनुभव भएका खेलाडी कम नै छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौ गोल्डेन्स पनि मिश्रित छ ।

शुक्रबार धनगढीमा ठूलो हावाहुरीसहित पानी परेको थियो । केही ठाउँमा असिना पनि परेको थियो ।
यस पटकको डीपीएल किन विशेष छ भने सर्वाधिक पुरस्कार, सुधारिएको मैदान र प्रविधिको प्रयोगसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो घरेलु प्रतियोगिता हो ।

मोफसलमा आयोजना भएको यति ठूलो प्रतियोगिता हरेक खेलाडीको सपनासँग जोडिएको छ । यसपटक मैदानमा राखिएको अस्थाई प्याराफिट पाँचजना क्रिकेट खेलाडीको सम्मानमा समर्पित गरिएको छ । पूर्व कप्तानहरु विनोद दास, राजु खड्का, अलराउण्डर मेहबुब आलम, पूर्व प्रशिक्षक स्वर्गीय अर्जुन खड्का र कीर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दिपक विष्टको नाममा स्ट्यान्ड बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com