उत्तर कोरियालाई सघाएको आरोपमा पानीजहाज कम्पनीहरू राष्ट्रसंघको कालोसूचीमा


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ।

सामुद्रिक मार्गबाट तेल र कोइला जस्ता वस्तुको तस्करीविरूद्ध कारबाही गर्ने कदमस्वरूप संयुक्त राज्य अमेरिकाले गत महिना त्यस्तो प्रस्ताव गरेको थियो।

प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजहरूलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको छ भने कम्पनीहरूको सम्पत्ति रोक्का गरिएको छ।

राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘एकढिक्का’
उत्तर कोरियाले पहिल्यैदेखि कैयौँ अन्तर्राष्ट्रिय प्रतिबन्धहरू झेलिरहेको छ।

अमेरिकाले उत्तर कोरियाली पारमाणिक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्रतिबन्ध लगाएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले पछिल्लो कदमले उत्तर कोरियाली शासनमाथि ‘अधिकतम दबाब कायम राख्न अन्तर्राष्ट्रिय समुदाय एकढिक्का रहेको स्पष्ट सन्देश दिएको’ बताएकी छन्।

एक्ल्याइएको उत्तर कोरिया सन् २००६ यता कैयौँ चरणको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट गुज्रिरहेको छ।

लक्षित
ती प्रतिबन्धहरूका कारण उत्तर कोरियाका अधिकांश निर्यात बन्द भएका छन् भने तेल आयात सीमित हुन पुगेको छ।

उत्तर कोरियाली नेता किम जङ-अनले क्षेप्यास्त्र तथा पारमाणविक परीक्षण रोक्ने र वार्ता शुरू गर्ने निर्णय गर्नुमा अन्तर्राष्ट्रिय प्रतिबन्धको महत्त्वपूर्ण भूमिका रहेको कूटनीतिज्ञहरूको विश्वास छ।

पछिल्लो प्रतिबन्ध उत्तर कोरियाको पानीजहाज सञ्चालनप्रति मात्रै नभइ प्योङयाङसँग व्यापार गर्ने चिनियाँ कम्पनीहरूप्रति पनि लक्षित छ।

राष्ट्रसंघको सूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, मूल चिनियाँ भूभागका दुईवटा, ताइवानका दुईवटा र पनामा तथा सिंगापुरका एक/एकवटा कम्पनी परेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com