संविधान संशोधनको मुद्दामा एमाले ‘रिजर्भ’


प्रकाशित मिति : आश्विन २९, २०७३ शनिबार

प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधनको मुद्दामा ‘रिजर्भ’ छ । मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले संशोधनको विषय औपचारिक रूपमा प्रस्ट नपारेको भन्दै एमालेले तत्कालका लागि ‘रिजर्भ’ बस्ने रणनीति लिएको हो । एमाले शीर्ष नेताहरूले राष्ट्रिय हितमा तल–माथि नहुने गरी संविधान संशोधन हुनसक्ने, तर संशोधनको कारण र औचित्य पुष्टि हुनुपर्ने बताउँदै आएका छन् ।

सत्तारूढ दल नै विभाजित रहेको एमालेको बुझाइ

संविधान संशोधनका विषयमा सत्तारूढ कांग्रेस र माओवादी केन्द्रभित्रै विवाद रहेको एमालेको बुझाइ छ । नागरिकता, भाषालगायतका मुद्दामा दुई दलबीच समानता देखिए पनि प्रदेशको सीमा हेरफेरबारे दुई पार्टीभित्रै सहमति जुट्न नसक्ने एमालेको ठम्याइ छ ।

‘संशोधनको हल्ला पिटाउनुको कुनै अर्थ छैन, पहिले कांग्रेस र माओवादी केन्द्रले आफ्नै पार्टीभित्र सीमांकन हेरफेरका मुद्दामा सहमति जुटाउँदा हुन्छ,’ एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘साँच्चै उहाँहरूले पार्टीभित्र सर्वसम्मत वा बहुमतबाट निर्णय गराएर आउनुभयो भने एमाले जुनसुकै वेला छलफलका लागि तयार छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमांकन हेरफेर गर्न संघीय आयोग

संविधानअनुसार सीमांकन हेरफेरको मुद्दाबारे सुझाब लिन संघीय आयोग गठनबाहेक सीधै संशोधनमा जान नसकिने एमालेको धारणा छ । ‘संविधानमा सीमांकन विवादका लागि संघीय आयोग बनाएर सुझाब लिन सकिने र सिमानाको हेरफेर प्रदेशहरूको सहमति लिएर मात्रै गर्न सकिने लेखेकाले त्यसबाहिर जानसक्ने स्थिति छैन,’ एमाले नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेलले भने । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको वार्तामा मधेसी मोर्चाले चासो नराखेका कारण आयोग गठन गर्न सहमति नजुट्ने एमालेको बुझाइ छ ।

सरकारी प्रस्ताव आए मात्रै औपचारिक धारणा

एमालेले मधेसी मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्न संविधान संशोधनको मुद्दामा धारणा नबनाएको नयाँ पत्रिकामा खबर छ । संशोधनसम्बन्धी सरकारको औपचारिक प्रस्तावपछि मात्रै छलफल अघि बढ्न सक्ने एमालेको भनाइ छ । ‘राजनीतिक छलफलमा बोलाइए हामी भाग लिन्छौँ । तर, मुख्य कुरा संशोधनको विषय के हो स्पष्ट हुनुपर्छ,’ एमाले नेता अग्नि खरेलले भने, ‘कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासँग भएका सहमति के हुन् भन्ने प्रस्ताव ल्याउनुपर्छ । हामीले केमा साथ दिनुपर्ने भन्ने जानकारी दिइएपछि मात्रै हामी हाम्रो धारणा राख्नेछौँ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com