नेपाली काँग्रेसका नेता स्व. खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

मिर्गौला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो ।
उनको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँगे्रसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बीपी कोइरालाका भरपर्दा युवकका रुपमा रहेका थिए ।

विसं २०३३ पुस १६ गते बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उनीसँगै थिए । निर्वासनबाट बीपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आएका थिए ।

नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस९प्रजातान्त्रिक०मा उनी महामन्त्रीको भूमिकामा रहेका थिए । काँग्रेसको १३औँ महाधिवेशनमा उनी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उनले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com