स्थानीय बासिन्दाले गरे, सर्भे उच्चस्तरीय टोली चढेको गाडी तोडफोड


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, कञ्चनपुर । महाकाली नगरपालिकाको कञ्चनभोजमा सुख्खा बन्दरगाह सर्भेका लागि आएको नेपाल–भारत संयुक्त सर्भे उच्चस्तरीय टोली चढेको गाडी स्थानीय बासिन्दाले बिहीबार तोडफोड गरेका छन्। सुख्खा बन्दरगाह निर्माणले आफूहरू विस्थापित हुने भन्दै उनीहरूले टोली चढेको गाडी तोडफोड गरेका हुन्। सर्भे टोली चढेको म १ झ ८४ नम्बरको भन्सार कार्यालयको गाडी र बा १ झ ९३० नम्वरको नेपाल इन्टर मोडेल विकास समिति कार्यालयको गाडीमा स्थानीय बासिन्दाले तोडफोड गरेका हुन्। टोली चढेको गाडीमा आक्रमण हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा क्षेत्र नजिक रहेको भारतीय सीमा सुरक्षा बल एसएसबीले सुरक्षा दिएको थियो। भारत सरकारको डिपार्टमेन्ट मेन्ट अफ कर्मसका अनुराग शर्माको नेतृत्वका आएको टोली र नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजु र उपसचिव तर्कराज भट्टलगायत नेतृत्वको टोली कञ्चनभोज क्षेत्रमा सुख्खा बन्दरगाहका लागि अवलोकन गर्न पुगेको थियो। सुख्खा बन्दरगाहका कारण आफूहरू विस्थापित हुने भन्दै काम अघि नबढाउन स्थानीयले महाकाली नगरपालिका कार्यालय तथा अन्य जनप्रतिनिधिलाई ज्ञापनपत्रसमेत बुझाएको स्थानीय खड्गबहादुर चन्दले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com