पर्यटक आकर्षित गर्न हल्खोरिया दहको सफाइमा तीव्रता


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, पर्सा राष्टिय निकुन्जको प्रसिद्ध सिनसाइटको रुपमा रहेको हल्खोरिया दहको सरसफाईलाइ तीव्रता दिइएको छ । निकुन्ज प्रशासनले एक सातादेखि दहको सफाई अभियान चलाएको हो । सरकारले पर्सावन्यजन्तु आरक्षलार्इ राष्टिय निकुन्ज घोषणा गरेपछि दहलाई व्यवस्थित गर्न एवं वर्ष यता यो समेत गरी तेस्रो पटक सफाई अभियान चलाइएको हो । निकुन्जमा विदेशी पर्यटकहरुको संख्याको क्रम बढ्दै गएपछि दहका बाँधहरुलाई व्यवस्थित गनुको साथै सरसफाइ अभियानमा तिब्रता दिइएको छ ।

यस कामका लागि पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ। करीब ११ हेक्टरमा फैलिएको यो दहको अधिकांश भाग घाँस र वनस्पतिले ढाकेपछि सफाई गर्न थालिएको निकुन्जले जनाएको छ । जनावरहरु पानी खान दहमा जमघट हुने गरेकोले यसलाई पर्यटकको लागि भ्यू पोइन्टको रुपमा विकसित गरिएको छ ।

निकुन्जको अति महत्वपूर्ण क्षेत्रमा रहेको पानीको यो ठूलो श्रोतलाई व्यवस्थित र संरक्षण नगरिए ढाकिने भएकोले समय समयमा सरसफाइ गरिएको निकुन्ज प्रमुख आचार्यले बताए ।

ढड्डी र नरकट जस्ता वनस्पति हात्ती र गैंडाले रुचाउदैनन् । जलचर, चरा र गैंडालाई आहाल खेल्न पनि दह सफा चाहिन्छ । निकुन्जका सबै खाले जनावर मात्र नभई हात्ति र चितवनबाट पर्सा निकुन्जबाट आएका गैंडा जस्ता जनावर बस्ने क्षेत्रको रुपमा विकास भएकाले दह वरपरको क्षेत्रलाई निकुंजले व्यवस्थित गर्ने प्रयास लागेको हो ।

दहमा जलस्तर बढे दहमा बाघको आहारा प्रजातिका मृगलगायतका जनावरहरुको आवागमन पनि बढ्ने भएकाले बाघको संख्या वृद्धिमा पनि सकारात्मक प्रभाव पर्ने आचार्य बताउछन् ।

‘दहलाई सफा गरेर यसमा पर्याप्त पानी, बाहिर घा“से मैदान विकास गर्ने हाम्रो लक्ष्य हो,’ आचार्यले भने, ‘यस वर्षको साउन २८ को वर्षाको भेलले दहको ड्याम फुटाएकाले त्यसलाई व्यवस्थित पनि गर्दै छौं, यसरी वर्षायाममा बढी भएको पानी दहबाट बाहिरिन्छ र आवश्यक पानी दहमा रहन्छ ।’

वन्यजन्तुको अत्याधिक आवागमन हुने भएकाले पर्यटक आकर्षित हुन भनेर मचान बनाइएको छ । वन्यजन्तु बढी आउने क्षेत्रमा वन्यजन्तुको अवलोकन गर्न आन्तरिक र बाह्य दुबै खाले पर्यटक आउँने गर्छन् । गत वर्ष देखि यहाँ चितवन निकुन्जबाट गैंडाहरुको आउने क्रम बढ्न थालेको छ ।

निकुन्ज आसपासका मानव बस्तीका बासिन्दाले वर्षेनी लक्ष्मीपुजाको दिन यो दहमा आफ्नो हलोजुवा धोई पखाली गर्ने भएकाले दहको यसको नाम हल्खोरिया रहन गएको मान्यता समेत रहेको छ । बितगमा राष्ट्रिय वन हुदा यो दहमा दैनिक एक सय बढी मानिस माछा मार्न भनी आउने गरेकोमा निकुंज घोषणासंगै त्यो क्रम रोकिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com