तलब निर्धारण नभएपछि सांसदलाई पेश्की रकम उपलब्ध


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

चैत १६, जनकपुरधाम । प्रदेशसभा सदस्यको तलब निर्धारण नभएपछि प्रदेशसभा सचिवालयले पेश्कीस्वरूप रकम उपलब्ध गराएको छ। संघीय अर्थ मन्त्रालयबाट प्राप्त बजेटमार्फत प्रदेशसभा सदस्यलाई पेश्कीस्वरूप ८० लाख २५ हजार रकम उपलब्ध गराइएको हो।

प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार अधिकांश प्रदेशसभा सदस्यले पेश्की बुझिसकेका छन्। फागुन १५ गतेदेखि नै चेकमार्फत पेश्की वितरण सुरु गरिएको लेखा अधिकृत लालबाबु मिश्रले बताए। चेक बुझ्न बाँकी सदस्यलाई पनि जानकारी गराइसकेको उनले बताए।

७५ हजारका दरले पेश्की रकम उपलब्ध गराएको जनाइएको छ। प्रदेशसभा सदस्यहरूको तलबभत्ता निर्धारण हुन नसकेकाले पेश्कीस्वरूप रकम वितरण गरिएको हो। यस प्रदेशमा १ सय ७ प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, विपक्षी दलका नेतासहितका लागि छुट्टै तलबभत्ता तथा अन्य सुविधा उपलब्ध गराउने प्रावधान रहे पनि हालसम्म यसका विषयमा प्रदेशसभाबाट टुंगो लाग्न सकेको छैन। तलब निर्धारण भएपछि पेश्की फर्छौट गर्ने गरी अहिलेलाई रकम उपलब्ध गराइएको लेखा शाखाले जनाएको छ।

यो प्रदेशमा १० वटा प्रदेशसभा बैठक बसिसकेको छ। बैठकबाट आर्थिक कार्यविधि पारित भइसकेकाले प्रदेशसभा सचिवालयले आगामी तीन वर्षको अनुमानित खर्च प्रदेश सरकारसँग माग गर्ने तयारी गरेको छ। प्रदेशसभा सदस्यको तलब, बैठक भत्ता, घरभाडा र अन्य सेवासुविधाका लागि बजेट माग गर्ने जनाइएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com