चमत्कार भएमात्रै केपी ओलीको भारत भ्रमणअघि पार्टी एकता


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

एमाले–माओवादी पार्टी एकताका लागि अन्तिम तयारी भए पनि केही व्यावहारिक कठिनाइका कारण प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि एकता घोषणा नहुने भएको छ ।

दुबै पार्टीका शीर्ष नेताहरू सकभर प्रधानमन्त्रीको भारत भ्रमण अगाबै पार्टी एकता गर्ने पक्षमा रहे पनि त्यसअघि दुबै पार्टीले केही महत्वपूर्ण विषयमा निर्णय गर्न बाँकी रहने भएकाले प्रधानमन्त्री फर्केपछि मात्रै एकता घोषणा हुने भएको हो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणको समय आइसकेको छ । समय अत्यन्त छोटो छ, पार्टी एकता घोषणाअघि पार्टीभित्रै गर्नुपर्ने केही कामहरू अझै बाँकी छन् । यसले गर्दा भ्रमणअघि एकता घोषणा हुने सम्भावना अत्यन्त कम छ’, माओवादीका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘अब प्रधानमन्त्री फर्केपछि मात्रै घोषणा गर्न सकिन्छ ।’ उनका अनुसार अबको एकसातामा कुनै चमत्कार भएमात्रै ओलीको भारत भ्रमणअघि एकता हुनेछ नत्र कुनै पनि हिसावले सम्भावना छैन ।

हाल एकताको आधार तयार गर्न गठित दुवै दलका नेता सम्मिलित दुई छुट्टा–छुट्टै कार्यदलले आआफ्नो प्रतिवेदन तयार गर्न सक्रिय छ ।

रामबहादुर थापा नेतृत्वको विधान मस्यौदा कार्यदलले तीनवटा विषयबाहेक अरू विषयमा सहमति जुटाएर प्रतिवेदन तयार पारिसकेको छ भने माधव नेपाल नेतृत्वको राजनीतिक प्रतिवेदन बिहीबार बेलुकासम्म तयार पारिने कार्यदलका सदस्यहरूले बताएका छन् ।

थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा तीनवटा विषयमा कार्यदलमा सहमति जुटेको छैन । ती विषयमा समेत पहिला कार्यदलका संयोजक थापा र कार्यदलका सदस्य तथा एमालेका नेता ईश्वर पोखरेलले सहमति जुटाउने प्रयास गर्नेछन् ।

उनीहरूबीचमा सहमति नजुटे एकता संयोजन समितिले त्यसको अन्तिम निर्णय गर्नेछ । यो कार्यदलले विधानको भूमिका लेखेर शुक्रबारभित्र प्रतिवेदनको अन्तिम रूप दिने तयारी गरेको सदस्य बेदुराम भुसालले जनाएका छन् ।

यद्यपि कार्यदलले पार्टी एकता संयोजन समितिलाई दुवै प्रतिवेदन बुझाइसकेपछि पनि सहमति भएका विषयमा समेत संयोजन समितिले हेरफेर गर्न सक्नेछ । त्यसपछि मात्रै पार्टी एकताको अन्तिम ड्राफ तयार हुनेछ ।

विवादका विषय

१.  जनयुद्ध कि जनक्रान्ति
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्दमा विवाद छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको तर्क छ । तर, माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने भनिरहेको छ ।
२. सूर्य र हँसिया–हथौडाको लफडा
चुनाव चिन्हमा पनि कुरा मिलेको छैन । माओवादीले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने भनेको छ । उसको माग मान्न एमाले तयार छैन । एमाले सूर्य चिह्न मात्रै राख्नुपर्ने पक्षमा छ । जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमालेको जोड छ । कार्यदलस्तरमा यसबारे सहमति नजुटेपछि यसको जिम्मा २ नेतालाई दिइएको छ ।
३.  बाँडफाँडको अनुपात के ?
दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने विषय पेचिलो बनेको छ । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ । यो विषयमा कार्यदल तहमा छलफल नै नभएको नेताहरूले बताएका छन् । तर, केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले फिप्टी–फिप्टीको अवधारणा बाहिर ल्याएका थिए ।

४.  समय अभाव 
प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि २३ गतेबाट हुँदैछ । अब यो समय आउन एक साता मात्रै बाँकी छ । तीन दिनका लागि हुने उक्त भ्रमणका एजेन्डा र अन्य तयारीसमेत गर्नुपर्ने हुन्छ । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले त्यसका लागि सत्तारुढ दल, परराष्ट्रविद र अन्य दलहरूसँग छलफल गर्ने कामसमेत बाँकी नै छ ।

राजनीतिक प्रतिवेदन टुङ्ग्याउन ५ घण्टा
एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको अन्तरिम राजनीतिक प्रतिवेदन लेखन कार्यदलले बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिँदैछ । आज (बिहीबार) साँझ ५ बजेदेखि राति १० बजेसम्म प्रतिवेदनलाई अन्तिम रूप दिन बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्बाङले बताए ।
एकता महाधिवेशन अघिसम्म समाजावाद उन्मुख राजनीतिक कार्यदिशा, माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तबारे सहमति भइसकेकोे छ । जबज र एक्काइसौँ शताब्दीको जनवाद एकता महाधिवेशनबाट टुङ्ग्याउनेमा नेताहरू सहमत छन् ।
विधान मस्यौदामा मिलिसकेका विषय
१६ अध्याय र ७८ धारा विधान मस्यौदामा समेटिएका छन् । यो कार्यदलले एकीकृत पार्टीमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य बन्ने प्रस्ताव तयार गरेको छ ।
एकीकृत पार्टीको संरचना दस तहमा बाँडिएका छन् ।
दुवै पार्टीले गर्न बाँकी काम 
विधान मस्यौदा अनुसार दुवै पार्टीले एकीकृत पार्टी कमिटीमा क–कसलाई र कुन पद दिने भन्नेमा छलफल भएको छैन । यद्यपि पार्टी केन्द्रको अध्यक्षमा भने दुवै नेताले पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ । बाँकी जिल्लादेखि केन्द्रसम्म दुवै पार्टीले मिलाएर नाम तय गर्नुपर्ने हुन्छ । नयाँ विधान अनुसार दुवै पार्टीले पहिलाका धेरै नामहरू कटाएर छरिता कमिटीहरू बनाउनुपर्ने हुन्छ । जसका लागि जिल्लादेखि नै सहमति जुटाउँदै एकीकृत पार्टीको कमिटी निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा पनि १५ दिनको समय लाग्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com