पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन पावरटिलर


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

चैत १५, पर्वत । जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने सिडर मेसिन भित्रिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो। कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने ९सिडर०, छोडाउने ९कन्सेलर० र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरेको हो। बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो। कार्यालयमा बुधवार आयोजित कार्यक्रममा फलेवास १ कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफाँट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको हो। ६५ हजार पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने वरिष्ठ कृषि अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिए। मकै जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरेको छ। समूहमा आवद्ध किसानलाई कार्यालयले चालू वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवस्यक परे विषादीसमेत अनुदान दिने कार्यक्रम छ। ‘यो नयाँ अभ्यास हो,’ कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भने, ‘सफल भए अर्को वर्षदेखि कार्यक्रम र मेसिन थप्छौं।’ पावरटिलरमा मकै लगाउने मेसिन सिडर को सहायताले मकै रोप्दा २० जनासम्म कामदारको श्रम घट्ने कृषि प्राविधिकहरु बताउँछन्। सिडर जडित टिलर एक्लै चलाउन मिल्ने उनले बताए। गाउँमा जनशक्तिको अभाव र गोरु पाल्ने प्रचलन हट्दै गएका बेला यो मेसिन बढी उपयोगी हुने कृषकको भनाई छ। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com