काठमाडौं उपत्यकामा एनालग टिभी बन्द


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

चैत १५, काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो। यो सँगै काठमाडौं उपत्यकामा बुधबारबाट एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ।

मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव संगिता ओझा र उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा गएको थियो। टोलीले काठमाडौं उपत्यकाभित्रका १० वटा टेलिभिजन सेवा प्रदायक कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण टेलिभिजन बन्दै गराएको हो। सञ्चार मन्त्रालय प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबललगायत १० टेलिभिजन सेवा प्रदायक कम्पनीमा अनुगमन गरेको थियो।

सञ्चार मन्त्रालयले गत वैशाख १५ पछि काठमाडौंलगायत विभिन्न महानगरमा केबल टेलिभिजनलाई डिजिटाइजेसनमा जान भनि समयावधि तोकेको थियो। नगरपालिकामा गत कात्तिक १५ सम्मको समयसिमा तोकिएको थियो। ‘त्यही अनुरूप मन्त्रालयले कात्तिक १५ गतेपछि अनुगमन नै गरेर एनालग प्रविधिमा चलिरहेका नगरका केबल टेलिभिजन बन्द गराएको हो’, प्रवक्ता ढकालले भने, ‘त्यो समयमा बन्द गराएको भए पनि अदालतमा त्यस विरुद्ध रिट दायर हुनेबित्तिकै सर्वोच्चले यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।

अर्कोतर्फ सरकारले पनि चुनावको मुखमा केबल बन्द गर्दा मतदाता शिक्षा प्रभावित हुने भन्दै सरकारले नेपाली च्यानलको प्रसारणमा रोक नलगाउन निर्देशन दिएपछि सरेको टेलिभिजनको डिजिटाइजेसनको कामलाई सरकारले आजबाट पूर्ण रूपमा कार्यान्यवनमा ल्याएको हो।’ उनका अनुसार यो सँगै अब काठमाडौंबाहिरका महानगर, नगरमा एनलागबाट चलिरहेका टेलिभिजन बन्द गराइनेछ। आउँदो वैशाख १५ गतेपछि देशभर एनालग टेलिभिजन बन्द हुनेछन्।

आउँदो वैशाख १५ गतेपछि देशभर एनालग टेलिभिजन बन्द हुनेछन् । आजदेखि उपत्यकाभित्र झन्डै दुई लाख घरधुरी टेलिभिजन हेर्नबाट बञ्चित भएका छन्।

एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं उपत्यकाभित्र झन्डै दुई लाख घरधुरी टेलिभिजन हेर्नबाट बञ्चित भएका छन्। ‘दुईलाख घरधुरीले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्’, नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधिर पराजुलीले भने, ‘काठमाडौंमा रहेका ४० प्रतिशत घरधुरी यसबाट प्रभावित हुनेछन्।’

६० प्रतिशत ग्राहक डिजिटलमा गइसकेकाले अब ४० प्रतिशतमात्र यसको प्रभावमा पर्ने उनले बताए। ‘ती ४० प्रतिशत ग्राहकले अहिले एनालगमा आधारित भएर प्रसारण भइरहेको १० वटाको हाराहारीमा च्यानल हेरी रहेका थिए’, पराजुलीले भने, ‘हामीले यहीँ मंसिर एक गतेसम्म ५० वटा च्यानलबाट ३० वटा च्यानलमा झार्ने र त्यसको अर्को हप्ताबाट हप्तामा पाँचवटाका दरले घटाउँदै ल्याएका थियौं। त्यसैले अहिले ग्राहकले एनलगबाट बढीमा १० वटा च्यानल हेर्न पाइरहेकोमा त्यो पनि हर्ने नपाउने भएका छन्।

‘च्यानलको संख्या घटाउने क्रम सुरु भएसँगै धेरै ग्राहक डिजिटलमा सिफ्ट भएका थिए, ‘उनले भने, ‘अब बाँकी ग्राहकले पनि अबको १५ दिनभित्र सेवा पाइसक्नेछन्।’ ‘व्यवसायीले आवश्यक रूपमा सेटअप बक्स मगाइसकेकाले व्यवसायीलाई डिजिटलमा जान कुनै समस्या हुने छैन्’, डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले भन्छन्, ‘डिजिटल नेपालका लागि आवश्यक भएकाले पनि हामी व्यवसायीले सरकारले चालेको यो कदमा सुरुदेखि नै सहयोग गर्दै आएका थियौं।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com