सरकारले गर्‍यो, सार्वजनिक बिदामा व्यापक कटौती


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

चैत १५, काठमाडौँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ ।

वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपालीहरूको महान पर्व विजया दशमीमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती भएको छ । वडा दशैँमा १० दिन बिदा दिइँदै आएकामा अब जम्मा ७ दिन बिदा हुने भएको छ । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गरिएको छ ।

सरकारले २२ दिन बिदा कटौती गरेको छ । कटौती गरिएका बिदामा गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस छन् । अब संविधान दिवसमा मात्र सार्वजनिक बिदा दिइनेछ अन्य कुनै पनि दिवसमा सार्वजनिक बिदा हुने छैन । संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइने सरकारको निर्णय छ ।

कुनै जाति, समुदाय, धर्म या भेग विशेषको चाडबाड र संस्कृतिका आधारमा राष्ट्रव्यापी बिदा दिने परम्परालाई तोड्दै ओली सरकारले यस्तो निर्णय गरेको हो । ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com