सफल महिलाको असफल जीवन कहानी


प्रकाशित मिति : आश्विन २७, २०७३ बिहीबार

निर्मला ठकुराठी /   
एकजना ९० वर्षीया बृद्धाको अवस्थाले उनलाई बृद्धाआश्रम खोल्ने प्रेरणा दियो । अहिले उनी  ७० जना बृद्धबृद्धा हिंसापीडित महिला र बालबालिकाकी पनि आमा बनेकी छन् । उनी आफैँ हिंसा पीडित हुन् । त्यसैले आफूले भोगेको दुःख अरु महिलाले नपाउन भनेर दिनरात बृद्धबृद्धाको सेवामा समर्पित छन्, सुदूरपश्चिम कञ्चनपुरकी शारदा चन्द ।

home

‘एकदिन सुनें घाँस घारीमा महिला झुण्डिएर मरेकी छन् रे । म त्यहाँ पुगेँ, मैले त्यहा“ ती महिलालाई त भेटीनँ, तर एकजना निकै बृद्धावस्था की आमालाई खोलाको किनारमा देखें’ शारदाले भनिन् ।

कपाल सेतै भएकी ती आमालाई सोध्दै जाँदा उनी जमीनदारको घरमा बाख्रा गोरु चराउने काम गर्ने रहेछिन् । ९० वर्षीया ती आमा थिइन् पार्वती जोशी । कुराको सुरु मै ती आमाले आमाले आफूले चार दिनदेखि खान नपाएको बताइन् । ती आमाले भनिन् ‘खाना दिदैँनन् गोठमा सुत्छु ।’  ती बृद्धाको अवस्थाले शारदाले आफूले दुःख पाएका दिन सम्झिन् । शारदा भन्छिन् ‘खल्तीमा १० रुपैयाँ थियो त्यो बेला १० रुपैयाँको ८ वटा गोली मिठाइ पाइन्थ्यो ।  १० रुपैयाँको त्यही किनेर दिएँ र चार दिनपछि लिन आउने बाचा गरेर फर्कें ।’ त्यसपछिका चार दिन शारदा ढुक्कले निदाइनन् ।  छटपटी भयो, बोली हालें कसरी ल्याउने, कता राख्ने ।  अनि घरमा कुरा गरिन् ।  परिवार सकारात्मक थिएनन् । उनी प्रशासनमा गइन् । बुझिन् त्यसक्षेत्रमा ७ सय ७२ संघ संस्था दर्ता रैछन् ।  तर, बृद्धाश्रम छैन ।  त्यहीँ छलफल गरिन् ‘बृद्धाश्रम चलाउनु  सहज भए त आजसम्म एउटा त हुन्थ्यो नी’ सवैको जवाफ यस्तो थियो ।

कतैबाट आडभरोसा नपाएपछि साथीहरूसँग सल्लाह गरें, जो अहिले कार्य समितिमा छन्, उनीहरूले दिएको भरोसा मलाई  पनि आँट आयो र ती आमालाई ल्याएर केही दिन घरमै राखें’ चन्दले भनिन् । त्यसपछि उनीहरूले ‘आमा बिशेष कार्यक्रम’ गरे । नाचगान गरेर ९२ हजार रुपैयाँ उठाए । अनि सुरु भयो शारदा चन्दको बृद्धाश्रम खोल्ने तयारी ।  चन्द भन्छिन् बृद्धाश्रम खोल्ने प्रेरणा ती आमा बाटै मिल्यो ।

eee

‘समाजसेवामा लागेपछि अहिले सबैकी प्यारी भएकी छु, कुनैबेला जसले मलाई घरबाट निकाले, अहिले उनीहरू आफ्ना भएका छन् । जेठाजु जेठानीकी पनि म आफ्नो भएकी छु’ चन्द गम्भीर हुँदै भन्छिन् ।

यहाँसम्म आइपुग्न उनले कम्ति दुःख भोगेकी छैनन् ।  सुन्दा समेत कहाली लाग्छ, उनले कसरी भोगी होलीन् !  आफ्ना सफलताका कुरा गरिरहँदा उनले आफूले भोगेको दुखद कहानी सुरु गरिन्, ‘डोटीमा जन्मेपनि २ वर्षको उमेरमा बुवासँग कञ्चनपुर आएँ । बुवा महाकाली अञ्चल अस्पतालमा मुखिया हुनुहुन्थ्यो । हामी कञ्चनपुरकै जानकी टोलमा घर बनाएर बस्यौं ।’

एस.एल.सी दिएपछि १५ वर्षकै उमेरमा शारदाको विवाह भयो । तर विवाह भएको उनले पत्तै पाइनन् । शारदालाई मन पराउने एक युवकले आफ्नो बिहेको लुगा छानी दिन भनेर साथी मार्फत उनलाई बोलाए ।  उनी लुगा छानी दिन  साथीसँगै  भारतीय सीमाको बजार गौरीफन्टा गइन् । ती युवकले उनलाई झुक्याएर  पञ्जाब हुँदै हरियाणा लगे । उनी भन्छिन् ‘यो नै मेरो बिहे थियो, मलाई थाहा नै नभइ मेरो बिहे भएको हो ।  अहिले  मैले यसलाई प्रेम विवाहको नाम दिएकी छु ।’

विवाह गरेर १० दिनपछि उनीहरू घर आए, तर घर नपुग्दै परिवारले श्रीमानलाई समातेर लगे । ‘श्रीमान चन्द ठकुरीको छोरा हो, उनी बोहोरा क्षेत्रीकी छोरी । उनको श्रीमानको परिवारले यो विवाहलाई स्वीकारेन ।

Elderly

उनीपनि श्रीमान कै पछिपछि लागेर गइन् । श्रीमानलाई घरको माथिल्लो तलामा राखे । तर उनी मध्येरातसम्म  आँगनमा रुँदै बसिन्  । रुँदारुदै  छिमेकीले उनलाई त्यो रात वास दिए । उनी भन्छिन् ‘यहीँबाट  ममाथि हिंसा सुरु गरिएको हो । त्यसकै तेस्रो दिन हामीलाई अलग गर्न श्रीमानलाई पढ्न उहाँको परिवारले  धानगहुँ बेचेर काठमाडौं पठाए ।’

उनी घरमा एक्ली भइन् । १५ वर्षकी उनलाई बिहे भनेको के हो भन्ने समेत थाहा थिएन । माइतीमा सुखसयल जीवन विताएकी उनलाई एक्कासी अनौठो वातावरणको सामना गर्न पर्‍यो । उनी घरभित्र बस्नै पाइनन् । खानलाउन पाइनन् । सासुससुरा जेठाजु जेठानीले सँधैजसो कुटपीट गर्थे । बुवाआमाको स्वीकृतीविना विवाह गरेका कारण माइतीले पनि उनलाई स्वीकारेका थिएनन् ।  श्रीमान आफूसँग थिएनन् ।
हसियाँ नछोएकी उनले दिनभरी जङ्गलबाट घाँसदाउरा ल्याउनुपथ्र्यो । खान भने आधा पेट  अनि गोठको सुताइ  ।

केही समयपछि त्यही गोठको बसाइ पनि पाइनन् । सासु ससुरा जेठाजु जेठानी मिलेर चिर्पटले कुटेर घर निकाले । कतै जाने ठाउँ थिएन,  घर नजिकैको खोलाको किनारमा रुखको फेदलाई घर बनाइन । उनी एकपटक २८ दिनदेखि भोकै थिइन्  ।

ती दिन सम्झिँदा अहिले पनि उनका आँखा रसाउँछन् ‘आखा समेत नदेख्ने भैसकेकी थिएँ ।  मामा माइजुको घरमा लड्दैलड्दै पुगेँ ।  उहाँहरूले खान दिनुभयो ।  माइजुले ३ जनाका लागि पकाएको खाना मैले एक्लैले खाएँ । यो देखेर मामामाइजु रुनुभयो । मपनि रोएँ ।’

‘घर बस्न दिन्छन कि भनेर फेरी घर गएँ, जेठाजु जेठानीले दाउराले हिर्काएर लखेटे । त्यही बुढो रुख र त्यही खोला फेरी मेरो घर आँगन बन्यो । कहिले गोठमा पनि बस्थेँ । जामुनका फल र अम्बा खाएर बाँचे  । गाउँलेले पनि खानेकुरा दिन्थे ।’

बृद्धाश्रममा मृत्यु भएका बृद्धको शव दाहसंस्कारका लागि लैजादै

बृद्धाश्रममा मृत्यु भएका बृद्धको शव दाहसंस्कारका लागि लैजादै

एकदिन नसोचेको कुरा भयो, उनले भनिन् ‘सासु र जेठानीले मलाई घर लगे । अव त बस्न दिन्छ कि आशा पलायो, तर कोठामा चुकुल लगाएर सवैजनाले नराम्रोसँग कुटे । रुखमुनि नवस्न चेतावनी दिए । तर म त्यहा बस्न छोडिनँ ।’ यति गर्दापनि  रुखमुनि बस्न नछोडेपछि सासु, जेठानी र मामा ससुराकी छोरीले गल्ती भयो भनेर माफी माग्दै फेरी फकाएर उनलाई घर ल्याए । तर, मार्ने योजना रहेछ  । शारदा भन्छिन् ‘ तीन जनाले मलाइ कसैले हात समाते, कसैले मुख समातेर विष खुवाए । मरी भनेर खोलामा फालिदिएछन् । म बग्दै दलित बस्तीमा पुगेछु ।’

गाइलाई पानी खुवाउन आएका एकजना दाइले उनलाई देखेर गाउँ भरि  हल्ला गरे । उनीहरूले शारदालाई अस्पताल लगे । आमालाई पनिखबर भयो, उहाँ रुँदै रुँदै आउनुभयो ।

डाक्टरले बाँच्दिन भनिसकेका थिए, तर १७ दिनपछि उनी होसमा आइन् ।  अस्पतालबाट उनी माइत गइन् । ‘एक महिना बसेपछि माइतीको पनि उनी बोझ भइन्,  उनलाई फेरी त्यहि नर्कमा जानुपर्ने बाध्यता भयो  । बसाईं त्यही खोला किनार ।

निकै पीडादायी दिन थिए ती । उनलाई शक्ति दिएको थियो त मात्र श्रीमानको प्रेमले । उनलाई विश्वास थियो सँगै नभएपनि श्रीमानले आफूलाई निकै प्रेम गर्छन् । श्रीमान पनि उनलाई खोलाको किनारमै भेट्न आए । उनी भन्छिन् ‘सातवर्षपछि  मैले मेरो श्रीमानलाई देखेँ ।’  श्रीमान  समेत श्रीमतीलाई भेट्न डराउँथे ।

शारदाका वुवा जिल्ला शिक्षा कार्यालयमा सरुवा भएर आए । अनि उनका दुःखका दिन केही सहज भए । बुवाले उनलाई कार्यालयमा मुखियामा जागिर लगाइदिए । उनी त्यहाँ खरदारसम्म भइन् । विहे गरेको करीव १२ वर्षपछि पनि श्रीमान श्रीमती खुसीसँग बस्न पाएनन् । श्रीमतीसँग गयो भनेर परिवारले उनका श्रीमानलाई समेत कुट्न थाले । ‘मेरो लागि उहा“ले पनि धेरै कुटाइ खानुभएको छ’ शारदा भन्छिन् ।

यसपछि उनीहरूले घर छाडेर बजारमा कपडा पसल गेर बसे । केही समयपछि आफूमाथि चरम हिंसा गर्ने  सासु ससुरा पनि उनीकहाँ नै आएर बसे । उनीहरू दुबैलाई उनले भने ससम्मान राखिन् र अन्तिम बिदाइ पनि गरिन् ।

अहिले उनी गाउ“मा महिलालाई हिंसा भए सवैभन्दा  अगाडी आउँछिन् । महिलामाथि हिंसा अत्याचार गर्नेविरुद्ध उनको आवाज बलियो भएको छ । २०६५ सालमा महिला अधीकारकर्मी लक्ष्मी कोहराको हत्या हुँदा उनीसहित अन्य अधिकारकर्मी   २४ दिनसम्म काठमाडौंमा धर्ना बसेका छन्  ।

अहिले शारदाको नाम सुन्ने र उनलाई जान्नेहरू कडा मिजासको भनेर चिन्छन् । जब महिलालाई कसैले हिंसा गर्छ, उनलाई यो सह्य हुँदैन । पीडितलाई न्याय दिलाउन आफ्नो सवै काम छोडेर लाग्छिन् । प्रशासनले वास्ता नगरे टेवल ठटाउँछिन् ।  महिलामाथिको हिंसालाई  सामान्य ठान्नेहरूविरुद्ध उनको आवाज खरो हुन्छ ।

उनका एक छोरा एक छोरी छन् । छोरी स्टाफनर्स पढ्दैछन् । ‘छोराछोरी हुर्कीसके, अबको बाँकी जीवन महिला तथा बृद्धबृद्धा सेवा केन्द्रलाई र समाज सेवामा बिताउँछु’ उनी भन्छिन्  । श्रीमानले उनलाई सघाएका छन् । उनले भनिन्  ‘उहाँको एउटै गुनासो हुन्छ, तिमी मलाई समय नै दिदैनौं ।’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com