पोखरामा खेलौनाको निहुँमा बालिकाको हत्या


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ ।पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया छोरी विहानीको हत्या गरेका हुन् । प्रहरीका अनुसार आइतबार साँझ खेल्नका लागि विहानी घरबाट ९ वर्षीय दाजुसँग बाहिर निस्केकी थिइन् ।

खेल्ने क्रममा घर नजिकै रहेको वर्कसप ‘निट एण्ड क्लिन सर्भिस प्वाइन्ट’मा काम गर्ने किशोर आए । एकछिन सँगै खेलेपछि पुन थरका किशोर र बहिनी विहानी वर्कसप भन्दा केही पश्चिमबाट दक्षिणतर्फको बाटो लागे । विहानीका दाजु भने घर फर्किए । राति ८ बजेसम्म पनि विहानी घरमा नफर्केपछि उनको खोजी सुरु भयो ।

सुरुमा त आमालाई खेल्न गएकी छोरी केहिबेरमा फर्किन्छिन भन्ने थियो तर रातिसम्म घर नफर्केपछि प्रहरीलाई समेत खबर भयो ।त्यस क्रममा विहानीका दाजुबाट बहिनीसँग वर्कसपमा काम गर्ने पुन थरका किशोर रहेको थाहा भयो । र, उनलाई प्रहरीले केरकार गर्ने वित्तिकै उनले हत्या गरेर शव पुरेर आएको खुलासा भयो । साँझ ७ बजे हराएकी विहानीको शव राति १० बजे भेटिएको थियो ।

ढुंगाले हानेर हत्या
प्रहरीका अनुसार किशोरले प्रारम्भिक बयानका क्रममा हत्या स्वीकार गरिसकेका छन् ।किशोरका अनुसार रिमोटबाट चल्ने खेलौना खेल्ने क्रममा खोसाखोस भयो । खोसाखोसको क्रममा किशोरले खेलौना आफ्नो हातमा पार्न बालिका विहानीलाई ढुंगाले टाउकोमा प्रहार गरे । ढुंगाले हानेपछि विहानीको टाउकोबाट रगत आयो र रुन/कराउन थालिन्, त्यहीँ बेला किशोरले विहानीको आमाले थाहा पाए आफूलाई पिट्ने सोचेर नजिकैको खाली बोराले घाँटी कसेर हत्या गरे ।

हत्यापछि नजिकै रहेको खुल्लाचौरको झाडीमा लगेर सिमेन्टको १२/१५ वटा बोराले छोपे र कसैले नदेखोस् भनेर टाउको तिर सिमेन्टको बोरामा आधा भरिएको वालुवाले टाउको छोपिदिए ।किशोरले हत्या गर्दा कपडामा रगत लागेपछि त्यो कपडा बाकसमा राखेको बयानसमेत दिएका छन् ।

तर, केहिबेरपछि नै उनले हत्या गरेको कुरा प्रहरीको केरकारमा खुल्यो । हत्यामा संलग्न पुनको स्थायी घर र आफन्त पत्ता नलागेको प्रहरीले जनाएको छ ।उनी एक महिना अघिमात्र वर्कसपमा काम गर्न थालेको खुलेको छ । यसअघी उनी स्याङ्जामा अंकल पर्नेको घरमा काम गरेको खुलेपनि अंकलको नाम नखुलेको प्रहरी श्रोतको भनाइ छ ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बालिकाको हत्या नै भएको बताए ।

उनले खेलौनाको निहुँमा हत्या भएको देखिएको भन्दै बलात्कार भए/नभएको बारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने बताए ।किशोरमा मानसिक समस्या भए जस्तो देखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक -डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए ।डीएसपी खत्रीका अनुसार किशोरले सानैदेखि आफूले खेपेका अभाव र समस्याहरु डायरीमा लेख्ने गरेको र त्यो हेरेर विक्षिप्त हुनेगरेको खुलेको छ ।

मृतक बालिका विहानीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।पोष्टमार्टमपछि परिवारलाई शव बुझाइने प्रहरीले जनाएको छ । यसैबीच, मृतक विहानीको आमा छोरीको हत्या भएपछि विक्षिप्त बनेकी छन् ।उनी कहिले बेहोस् हुने त कहिले छोरी विहानी भन्दै बर्बराउने गरेकी छन् । विहानीका बुबा भने नवलपरासीबाट पोखरा आउँदै गरेको पारिवारिक श्रोतले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com