राष्ट्रपति निर्वाचनका लागि शनिवार रातिदेखि मौन अवधि


प्रकाशित मिति : फाल्गुन २६, २०७४ शनिबार

फागुन २६, काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि शनिवार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ ।

सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएकी छन् । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।

आयोगले शनिवार सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ ।

यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नवराज ढकालले शनिवार विज्ञप्ति जारी गरी यही फागुन २२ गते अन्तिम नामावली प्रकाशित भएको जनाएका हुन् ।

नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउनुहुने छैन । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com