दलित भन्दै पत्रकारलाई कोठा नदिने घरबेटी प्रहरीद्वारा पक्राउ


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

विक्रम सुनार, रिमराज सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि राजधानीस्थित अनामनगरकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् ।

मिलन विश्वकर्मा अर्थिक अभियान, विक्रम सुनार इमेज टेलिभिजनमा कार्यरत छन् भने रिमराज सुनारले स्नातकोत्तर अध्ययन गर्दैछन् । पीडितले घरधनी श्यामप्रसाद र कमला गौतमको नाममा जाहेरि दिए पनि प्रहरीले भने कमललाई मात्र थुनामा राखेको हो ।

वृत्तका प्रहरी नायव उपरिक्षक रवि पौडेलले अदालतमा मुद्दा पनि दायर भएको जानकारी दिएका छन् । उनले भने, ‘छानविन प्रक्रिया सुरु भएको छ र, नसकिदासम्म थुनामा राख्छौँ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर पुग्दा श्यामप्रसाद र कमलाले फर्काएको मिलनले बताए । उनले भने, ‘कमलाले तपाईसँग जात नमिल्ने भएकाले कोठा दिन मिल्दैन भन्नुभयो । अहिलेसम्म दलितलाई आफ्नो घरमा नराखेको भन्दै अभद्र व्यवहार गर्नुभयो ।’

दलित अधिकारकर्मी र पीडितको टोलीले मंगलबार नै जाहेरि दिए पनि बुधबार मात्र दर्ता भएको हो । जातीय छुवाछुत तथा जातीय कसुर सजाएँ ऐन–२०६८ ले विभेद गर्नेलाई एक महिनादेखि पाँच वर्षसम्म कैद वा पाँच सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com