म्याग्दी स्वास्थ्य शिविरबाट एक हजार लाभान्वित


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

 

फागुन २२, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना गरेको शिविरमा एक हजार छ जना लाभान्वित भएको आयोजकले जनाएका छन् । शिविरमार्फत कुहुँ, बाबियाचौर, बरंजा र अर्मनका बासिन्दालाई स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सेवा दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिइन्।

शिविरमा साधारण स्वास्थ्य परीक्षणसँगै मधुमेह, स्त्रीरोग, इसिजी, दाँत, आँखा चेकजाँच र हाडजोर्नीसम्बन्धी स्वास्थ्य समस्या भएका सर्वसाधारणलाई विशेषज्ञ सेवा दिइएको थियो। जिल्ला स्वास्थ्य प्रमुख डा रोशन न्यौपाने, डा नवराज बस्ताकोटी, भुषण सुवेदी, अमुदा रेग्मीलगायतको टोलीले सेवा दिएको थियो।

भौगोलिक विकटता तथा आर्थिक अभावका कारण सदरमुकामको अस्पतालमा पुगेर सेवा लिन नसकेका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। स्रोत रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com