विश्वका १५५ देशका महाबाणिज्यदूतावासबाट बिष्णुमाया सम्मानित


प्रकाशित मिति : फाल्गुन २२, २०७४ मंगलबार

न्युयोर्कमा रहेका विश्वका १ सय ५५ देशका महावाणिज्यदूततावासका तर्फबाट न्युजर्सी निवासी नेपाली अधिकारकर्मी डाक्टर बिष्णुमाया परियार सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवशको अवशरमा न्युयोर्कको म्यानहटनमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

न्युयोर्कको म्यानहटनमा रहेको बोहिमिहन हलमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका महावाणिज्यदूतावासका प्रतिनिधिहरु उपस्थीत थिए । कार्यक्रम द सोसाइटी अफ फरेन कन्सुल इन न्यु योर्कले गरेको हो । जसका बर्तमान अध्यक्ष साउदी अरेबियाका महावाणिज्यदूत खालिद अल्सारिफ हुन् । न्युयोर्कमा रहेका विश्वका महावाणिज्यदूतावासहरुको यो साझा संस्था सन् १९२५ मा स्थापना भएको हो ।

कार्यक्रमको सुरुवातमा साउदी अरेबिया र चेक रिपब्लिकका महावाणिज्यदूतहरुले मन्तब्य दिएका थिए भने कार्यक्रमको संचालन हंगेरीका भाख्तांग गोग्साडेजले गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली महाबाणिज्यदूत मधुकुमार मरासिनीले डाक्टर बिष्णुमाया परियारले सामाजिक क्षेत्रमा दिनुभएको योगदानको चर्चा गर्नुभयो । सम्मानित भइसकेपछि डाक्टर परियारले यस्तो सम्मानबाट आफूलाई सामाजिक क्षेत्रमा सकृय रहन थप प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा अल्जेरिया, बंगालादेश, बार्बादोस, बुल्गेरिया, जर्जिया, हैटी, हंगेरी, भारत, जमैका, कोसोभो, मेक्सिको, पाराग्वे, फिलिपिन्स, रसिया, साउदी अरेबिया, टर्की, थाइल्याण्ड लगायतका देशका महावाणिज्यदूतहरुको उपस्थीति रहेको थियो । यसबर्षको कार्यक्रमका लागि मुख्य अभिभारा जर्जिया र साउदी अरेबियाका महावाणिज्यदूतावासले लिएका थिए । कार्यक्रममा विभिन्न देशका सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।

सम्मानित डाक्टर बिष्णुमाया परियार सिमान्तकृत र दलितहरुको जीवनमा परिवर्तनका लागि काम गर्दै आएको संस्था एड्वानकी संस्थापक तथा मुख्य संरक्षक हुनुहुन्छ, जसले झण्डै १५ हजार बालबालिका, ३४ हजार भन्दा धेरै दलित र सिमान्तकृत महिला तथा उनीहरुका परिवारलाई सहयोग गरिसकेको छ । न्युजर्सीका मेयरकी सल्लाहकार समेत रहनुभएकी परियार सामाजिक अभियानसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध र सकृय हुनुहुन्छ ।

फोटो : दीपक परियार / प्रदीप परियार थापा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com