धरानमा खानेपानीको चरम अभाव


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

फागुन २१, धरान । सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार मच्चिएको छ। सातादेखि धरानका आधाजसो घरमा जडान गरिएका धारामा खानेपानी नआएपछि खानेपानीको हाहाकार मच्चिएको हो।

खानेपानी संस्थान धरानले एक महिनादेखि दिन बिराएर पानी वितरण गर्न थालेको थियोे। धरानमा दैनिक ४ करोड लिटर खानेपानीको माग भए पनि संस्थानले दैनिक एक करोड २० लाख लिटर मात्र पानी वितरण गर्दै आएको छ। खानेपानी संस्थानले कम पानी आपूर्ति गरेका कारण धरानमा बर्सेनि खानेपानीको समस्या भएको धरान(१५ का वडाध्यक्ष नरेशकुमार इवारमले बताए।

उनले संस्थानले १५ नम्बर वडामा समान रूपले सर्वसाधारणलाई पानी वितरण गर्न नसकेका कारण वडावासी खानेपानी सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्। घरमा जडान भएका धारामा पानी नआएपछि धरानवासी विभिन्न खोला, खोल्सीबाट खानेपानी जोहो गरी जीवन जिउन बाध्य छन्।

खानेपानी संस्थानले समान रुपले पानी वितरण नगरेका कारण हजारौं परिवार खानेपानी सुविधावाट वञ्चित भएको विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए। उनले संस्थानले पर्याप्त पानी वितरण नगरेका कारण दैनिक १० हजार लिटर पानी किनेर हस्पिटल सञ्चालन गर्नुपरेको गुनासो गरे।

धरानका १, २, ८,९, १०, ११, १२, १४, १५, १९ लगायत वडामा पर्याप्त खानेपानी वितरण नगरिएका कारण धरानवासी खानेपानी सुविधाबाट वञ्चित भएका हुन्। संस्थानले पर्याप्त खानेपानी वितरण नगरेपछि सर्वसाधारणले घण्टौँ लगाएर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसी झाडीलगायत स्थानबाट पानी ल्याएर जीविका चलाउनुपरेको बताए। धारामा पानी नआएपछि संस्थानको कार्यालयमा पटक पटक डेलिगेसन जाँदासमेत संस्थानले धरानवासीलाई पानी वितरण नगरेको स्थानीयको आरोप छ।

भौगोलिक विकटताका कारण धरानका कतिपय वडामा समान रूपले पानी वितरण गर्न नसकिएको खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले बताए। धरानमा १९ हजार २ सय धरामार्फत स्थानीयलाई खानेपानी वितरण गरिँदै आएको छ। संस्थानले दैनिक एक करोड ३० लाख खानेपानी उत्पादन गर्ने गरेको प्रमुख श्रेष्ठले बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com