आज बडा दशैं, यस्तो छ साइत, सबैलाई शुभकामना


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

आज बडा दशैं । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।

यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।

दसैंको टिकाको उत्तम साइत असौज २५ गते मंगलबार बिहान पौने नौ बजे रहेको छ । पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने जनाइएको छ ।

विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको थियो ।

अमेरिकामा दशैंको टिकाको उत्तम साइत न्युयोर्क समय अनुशार अक्टोबर ११ तारिख मंगलबार विहान ९ बजेर ५१ मिनेट र विहान ११ बजेर १६ मिनेट जाँदा रहेको छ ।

jamara

न्युयोर्क निवासी पण्डित उद्धव शास्त्रीले उत्तम साइत विहान ९ बजेर ५१ मिनेट र ११ बजेर १६ मिनेट जाँदा रहेपनि दिउसो काममा जानेहरुका लागि विहान ६ बजेर ५५ मिनेट जाँदाको साइतपनि उपयुक्त भएको जानकारी दिनुभएको छ ।

अमेरिकाका अन्य शहरहरुमा बस्ने नेपालीहरुले पूर्वीय समय हिसाब गरेर टिका लगाउन सक्ने शास्त्रीले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अमेरिकाका अन्य राज्यमा बस्नेहरुले न्युयोर्कको समय अनुशार हिसाब गरेर उपयुक्त साइतमा दशैंको टिका लगाउन सक्नेछन् ।’

बडादशैंको अवशरमा खसोखास साप्ताहिकका पाठक, शुभचिन्तक, विज्ञापनदाता लगायत बडादशैं मान्नुहुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com