प्रदेश ४ को राजधानी पोखरा–कुस्मा सुरुङमार्गको सम्भाव्यता अध्ययन शुरु


प्रकाशित मिति : फाल्गुन १५, २०७४ मंगलबार

फागुन १५, कुस्मा । प्रदेश ४ को राजधानी पोखरा र पर्वत सदरमुकाम कुस्माबजार जोड्ने सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। राजधानीसँगै पर्यटकीय नगरी पोखरालाई धौलागिरि क्षेत्रसँग जोड्ने उद्देश्यले सुरुङमार्ग निर्माण गर्ने अवधारणा अघि सारिएको हो। केही वर्षअघिबाट पोखरादेखि कुस्मा जोड्ने सडकको लुम्लेखण्डमा अत्यधिक घुम्ती भएको र भूबनोटसमेत कमजोर भएकाले वर्षायाममा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको भन्दै सुरुङमार्ग निर्माण गर्नुपर्ने बहस चल्दै आएको थियो।

पर्वत उद्योग वाणिज्य संघले सुरुङमार्ग निर्माणका लागि २ वर्षअघि सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सम्भार महाशाखाले कात्तिक १३ गते सुरुङमार्ग सम्भाव्यता अध्ययन गर्न कन्सल्टेन्टलाई जिम्मा लगाइसकेको छ। पोखरा–बागलुङ राजमार्ग खण्डको फेदीदेखि नयाँपुलसम्मको सुरुङमार्गलाई प्राथमिकतामा राखेर सुरुङमार्गको अध्ययन भइरहेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर चञ्डेश्वर शाहले जानकारी दिए।

शाहका अनुसार मानिस लगाएर सुरुङ निर्माण गर्नुभन्दा बोरिङ मेसिनबाट कटान गर्दा किफायती हुने भएकाले यो प्रविधि अपनाउन महाशाखा इच्छुक देखिएको हो। पहाडका घुमाउरा सडकलाई सुरुङमार्गले जोड्दा समय र पैसा दुवै बचत हुने भएकाले यो प्रविधि भित्र्याउनु सराहनीय कार्य भएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए। विगतदेखि बहस चल्दै आएको सुरुङमार्गको विषयलाई नेपाल सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरेका छन्।

सुरुङमार्ग निर्माण भएपछि पोखरादेखि कुस्माको दूरी एकतिहाइ घट्नेछ।

सुरुङमार्ग निर्माणपछि पोखराबाट पर्वत सदरमुकाम कुस्माबजार एक घण्टामा पुग्न सकिन्छ। अहिले सडकमार्ग हुँदै जाँदा तीन घण्टाभन्दा बढी समय लाग्छ। ‘पहाडी भूबनोटमा सुरुङमार्ग निर्माण आवश्यक छु, प्रतिनिधिसभा सदस्य पदम गिरीले भने, ‘अबको सरकारले सम्भावना भएका हरेक ठाउँमा सुरुङमार्ग निर्माणलगायत विकास अनेक आयाम थप्नेछ।ु उनले पोखरादेखि नयाँपुलसम्मको सुरुङ निर्माण कार्य छिटो सुरु गर्न पहल गर्ने बताए।

पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग पनि यो सडकखण्डमा परेको र चीन भारत जोड्ने कोरल्ला नाकादेखि लुम्बिनी हुँदै भारत जोड्ने सडक एवं कोरला, म्याग्दी, कुस्मा, पोखरा नवलपुरहुँदै भारत जोड्ने सडकको अवधारणा विकसित हुँदै गएकाले यो सुरुङमार्ग थप प्रभावकारी हुने देखिएको छ।

सुरुङमार्ग निर्माण भएपछि पोखरादेखि कुस्माको दूरी एकतिहाइ घट्नेछ। सुरुङमार्ग निर्माणपछि पर्वतसँगै बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत लाभान्वित हुनेछन्। वार्षिक लाखौं संख्यामा राउन्ड अन्नपूर्ण पदयात्रा मार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यो मार्ग सञ्चालनमा आएपछि सहज हुने पर्यटन व्यवसायीको भनाइ छ। अर्कोतर्फ पोखरामा आउने पर्यटक यो क्षेत्रतर्फ आउन सहज हुने भएकाले यहाँको पर्यटनसँगै व्यापार व्यवसायसमेत वृद्धि हुने उद्योग वाणिज्य संघ पर्वतका उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com