चौकीदार कैदिको पैसाले मालामाल
प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार
वीरगन्ज कारागारका कैदीबन्दीले एक कल फोन गर्दा प्रतिमिनेट पाँच रुपैयाँ तिर्छन्। नेपाल टेलिकमको मोबाइल तथा टेलिफोनबाट स्वदेशमा फोन गर्दा बढीमा प्रतिमिनेट अढाई रुपैयाँ शुल्क लाग्छ। तर, कैदीबन्दी प्रशासनकै उपस्थितिमा टेलिकमको दरभन्दा दोब्बर शुल्क तिरेर फोन गर्न बाध्य छन्।
कारागार प्रशासनको नीतिका कारण फोन गर्दा कैदीबन्दीलाई तोकेको रकम तिर्नुपर्ने बाध्यता छ। ‘फोन गर्दा कारागार प्रशासनबाट खट्नेहरूले भनअनुसार पैसा दिनुपर्छ’, नाम नलेख्ने सर्तमा एक कैदीले भने, ‘कसरी यति पैसा भयो भनेर सोध्यो कि गोलघरमा लगेर त्यसको उपचार गरिन्छ।’ उनका अनुसार उपचार भनेको कुटपिट हो।
बिहान ६ बजेदेखि बेलुकासम्म फोन गर्न कैदीबन्दीको ताती लाग्छ। कारागारभित्र देशको होइन, कारागार प्रशासनको नियम मान्नुपर्ने बाध्यता रहेको जेलबाट छुटेका मैनोदिन मियाँले बताए। उनका अनुसार कैदीबन्दी नाइके र चौकीदारसँग कुनै पनि काममा प्रश्न नगरीकन ‘हो मा हो’ मिलाउन बाध्य छन्। चित्त नबुझे पनि प्रतिवाद गर्ने अवस्था रहँदैन।
पर्सा वि श्रामपुरका मियाँले डेढ वर्ष जेल सजाय काट्न हम्मे परेको बताए। ‘राणा शासनका बारेमा जे सुनेको थिएँ, डेढ वर्षको अवधिमा त्यही कुराको अनुभूति गरें’, उनले भने, ‘गणतन्त्र त कारागारबाहिर मात्र रहेछ।’
कैदीबन्दीले पाउने सेवा–सुविधाबाहेक डेढ लाख खर्च भएको उनले सुनाए। यो खर्च उपभोग्य सामग्री महँगो भएका कारण भएको उनको भनाइ छ। ‘दाइ नाइके भएकाले म त अरूभन्दा कम दरमा सामान किन्न पाउँथें’, उनले भने, ‘अरूलाई त महँगो पथ्र्यो।’