गीता खत्रीको कथासंग्रह न्युयोर्कमा पञ्चकन्याबाट लोकार्पण


प्रकाशित मिति : फाल्गुन १३, २०७४ आईतबार

अमेरिका निवासी साहित्यकार गीता खत्रीको कथासंग्रह अन्त्यहीन इच्छा आज न्युयोर्कमा लोकार्पण गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरले कार्यक्रमको आयोजना गरि कथासंग्रह लोकार्पण गरिएको हो ।

ज्याक्सनहाइटको हिमालयन याक रेष्टुरेण्टमा आयोजित कार्यक्रममा पञ्चकन्याको हातबाट पुस्तक लोकार्पण गरियो । महावाणिज्यदूत मधुकुमार मरासिनी लगायत साहित्यकारहरु र न्युयोर्कमा रहेका नेपालीहरुको उपस्थीति रहेको कार्यक्रममा वाणिज्यदूत कृसु क्षेत्रीले कथासंग्रहका बारेमा विशेष समिक्षा गर्नुभयो ।

१७ वटा कथाहरुको संग्रह साझा प्रकाशनले प्रकाशित गरेको हो । कथा संग्रहमा मानवीय जीवनका सुक्ष्म तत्वहरुको कलात्मक प्रस्तुतीका साथ गहन वर्णन गरिएको प्रकाशकले जनाएका छन् । मानवीय जीवनका उतारचढाव र यिनीहरुले समाजमा पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा सरल रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशकले भनेका छन्, ‘मानवीय जीवनका सुखदुख, पीडा र व्यथाहरु समेटिएका छन् । तिनले आम मानिसको प्रतिनिधित्व गरेका छन् । समाजमा घट्ने सानातिना घटनाहरुको कलात्मक प्रस्तुती हो यो संग्रह । डायस्पोरिक लेखनमा समेत प्रस्तुत कथासंग्रहले महत्वपूर्ण भूमिका खेलेको छ ।’

आफ्ना सबैजसो कथाहरुले डायस्पोरिक परिवेशलाई समातेका कथाकार खत्रीको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘यसो गर्दा कति मान्छेको जीवनसँग मेल खान पुग्दोरहेछ । यस्तो हुँदा कहिलेकाँही कसैलाई दुखपीडा पनि हुनसक्छ भने कसैलाई हौसला हुनसक्छ । पाठकलाई रुवाउनु, दुख दिनु, पीडा दिनु मेरो मनसाय कदापी होइन ।’

साहित्यकार खत्रीको यो नै पहिलो कथासंग्रह हो । तर यस अगाडि खत्रीका पाँचवटा पुस्तक भने प्रकाशित भइसकेका छन् । खत्रीले लेखेका गीतका चारवटा गिती एल्बम समेत बजारमा आइसकेका छन् । झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह, आमा हुन् आमा खण्डकाब्य, सिर्जनायात्रामा गतिा गीतिसंग्रह, सपनाको धरहरा कवितासंग्रह र सिर्जनायात्रामा गीता कविता र गजलसंग्रह खत्रीका यसअघि प्रकाशित कृति हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com