बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

–सन्दिप विक–

ललितपुर । नेपालमा पछिल्लो समय बालअधिकार हननका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।

इन्सेकका अनुसार सन् २०१७ मा बाल अधिकार हननका ७ सय ८३ वटा घटना घटेका छन् । यो तथ्यांक सन् २०१६ को भन्दा ६३ वटा घटनाले बढी हो । २०१६ मा ७ सय २० वटा बालअधिकार हननका घटना घटेका थिए ।

बालिका बढी पीडित

सन् २०१७ मा भएका बालअधिकार हननका घटनामा सबैभन्दा बढी बालिका पीडित भएका छन् । ७ सय ८३ घटना मध्ये ७ सय ५६ बालिका रहेका छन् भने २७ जना बालक रहेका छन् । यस्तै २०१६ मा घटेका घटना मध्ये ६ सय ६८ बालिका छन् भने ६२ जना बालक रहेका छन् ।

बलात्कारका बढी घटना

बालअधिकार हननमा सबैभन्दा बढी बालिकाहरू बलात्कारको सिकार भएका छन् ।

सन् २०१७ मा ५ सय २७ जना बालिकाहरू बलात्कृत भएका छन् । सोही अवधिमा यौन दुव्र्यवहारमा परेका एक सय ८१ बालबालिका मध्ये बालिका १ एक सय ७० र बालक ११ जना छन् ।

२०१७ मै बालबालिका बेचविखनका २३ घटनामा १६ बालिका र ६ बालक पीडित छन् । २६ जना बालिकाको बालविवाह भएको छ भने १४ नवजात शिशुको हत्या भएको छ । विद्यालयमा शारीरिक सजायका ११ घटनामा ५ बालिका र ६ बालक परेका छन् । एक जना बालिकामाथि हत्याको प्रयास भएको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

प्रदेश नं ३ मा बालअधिकार हननका घटना बढी

बालअधिकार उल्लंघनका घटना सबैभन्दा बढी प्रदेश ३ मा भएका छन् । २ सय ९ बालअधिकार उल्लंघनका घटनामा २ सय ५ बालिका र ४ बालक पीडित भएका छन् ।

यस्तै प्रदेश नं १ मा सन् २०१७ मा १ सय ७६ वटा बालअधिकार हननका घटना घटेका छन् । जसमा एक सय ७१ बालिका र ५ जना बालक छन् ।

प्रदेश नं २ मा एक सय ८ वटा बालअधिकारका घटना घटेका छन् । जसमा सबै बालिका छन् ।

प्रदेश ४ मा ५९ बालिका र ३ बालक गरेर ६२ वटा बालअधिकार उल्लंघनका घटना भएका छन् भने प्रदेश ५ मा एक सय ५८ घटनामध्ये एक सय ४८ बालिका र १० बालक पीडित भएका छन् ।

यस्तै प्रदेश नं ७ मा ४२ बालअधिकारका घटना घटेका छन् । यी सबैमा बालिका पीडित छन् ।

जुलाईमा सबैभन्दा बढी बालअधिकारका घटना

सन् २०१७ मा सबैभन्दा बढी जुलाई महिनामा बालअधिकारका घटनाहरू भएका छन् । मे महिनामा ८३, अक्टुवरमा ८२, मार्चमा ७७, अप्रिलमा ७३, फ्रवरीमा ६८, जनवरीमा ६२, अगष्टमा ६९, सेप्टेम्बरमा ६०, नोभेम्बरमा ३२ र डिसेम्बरमा ३५ वटा बालअधिकार घटना भएका छन् ।

नेपालमा बालअधिकार उल्लंघनका घटना बढ्दो छ । अझ बालिकाहरू पछिल्लो समय बलात्कारको सिकार भइरहेका छन् । कति बालबालिकाहरू बालश्रम, कुपोषण, शारीरिक दण्ड सजाय, ओसारपसार र अपहरणमा पर्ने गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगमा आर्थिक वर्ष २०७३\०७४ मा बालअधिकार हननका १४ वटा उजुरी दर्ता भएका थिए ।

जसमा विद्यालयमा शारीरिक सजाय दिइएको, शिक्षाको अधिकारबाट बन्चित भएको, विद्यालय तथा इँटाभट्टामा मृत्यु भएको र स्वास्थ्य सम्बन्धी घटना रहेका छन् ।

नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार प्रतिको प्रतिवद्धता जाहेर गरिसकेको छ । तर पनि नेपालमा बालअधिकार हननका घटनामा बढीरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com