राष्ट्रपतिलाई कांग्रेसको प्रश्न: राष्ट्रपति कसको ?


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

राष्ट्रियसभा सदस्य मनोनयनको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् ।

मुख्य प्रतिपक्षसँगै सरकार गम्भीर र जिम्मेवार हुनु पर्ने भन्दै उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ । अघिल्लो सरकारका निर्णयहरुका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहार अनुरुप हाम्रो सम्वन्ध परिभाषित हुन्छ ।’

प्रवक्ता शर्माले भने, ‘तर यो सरकारले संवैधानिक प्रक्रिया मिचेर गरेको निर्णय समेत अनुमोदन गरिएपछि राष्ट्रपति निष्पक्ष नभएको पृष्टि हुन्छ ।’

भण्डारीले राष्ट्रपति भन्दापनि एमालेको नेताको जस्तो व्यवहार गरेको शर्माको आरोप थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार मात्र तीन सदस्य सिफारिस गरेको छ । यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकार गरेर राष्ट्रिय सदस्यमा मनोनित गरेकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com