Follow @khasokhasmag

भ्रष्टाचार आरोपदेखि मुख्यमन्त्रीसम्म लालबाबुको यात्रा


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

२०५१ सालताका उनी ठाकुरराम क्याम्पसमा पढाउँथे, म पढ्थेँ। मेरो कक्षामा नआए पनि यी ठिटौले उमेरका अंग्रेजी गुरूमा चासो थियो। त्रिभुवन विश्वविद्यालयबाट भर्खर स्नातकोत्तर सकेर आएका उनी लगायत एकहुल रैथाने गुरूहरूले क्याम्पसमा नयाँ माहोल सिर्जना गरिदिएका थिए।

उनीबाहेक सुदीप ‘अंकल’, सञ्जय ‘दाइ’, सुशिल ‘दाइ’, कृपासिन्धु ‘दाइ’ लगायत थुप्रै नाम थपिएका थिए। त्यस अघिसम्म हाम्रो क्याम्पसमा अन्तबाट आएर पठनपाठन गराउने गुरूहरूको बाहुल्य थियो।

यसरी मैले पहिलोपटक लालबाबु राउतलाई ‘दाइ शिक्षक’का रुपमा चिनेको हुँ।

यसबीच सिर्सिया नदीमा धेरै पानी बगिसकेको छ।

सबैभन्दा पहिले त नेपाल संघीय गणतन्त्रमा रुपान्तरित भएको छ। त्यही रुपान्तरणको फल अर्थात् प्रादेशिक संरचना हाम्रा सामु प्रस्तुत छ। प्रदेशमध्ये सबैभन्दा ध्यान र चर्चा यतिबेला दुई नम्बर प्रदेशको छ। यो दुई नम्बर प्रदेशका प्रथम मुख्यमन्त्री भएका छन् उनै लालबाबु राउत।

जब जब कसैले लालबाबु राउतको पूरा नाम ‘मोहम्मद लालबाबु राउत गदी’ पुकार्छ तब तब उनी अल्पसंख्यक मुस्लिम समुदायका हुनुको पहिचान पनि खुल्छ।

बिहीबार पदभार ग्रहण गर्नेबेला उनै लालबाबु राउतले कार्यकक्षमा हिन्दू विधिबाट पूजापाठ गराउन लगाएको दृश्य सामाजिक सञ्जालमा देखियो।

म चाहिँ यसको पृष्ठभूमिबारे पनि जानकार थिएँ।

अघिल्लो दिन मात्र वीरगन्जमा आयोजित ‘गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार वितरण’ का बेला यो सन्दर्भ उठेको थियो। लालबाबुको पार्टी संघीय समाजवादी फोरमका पर्सा अध्यक्ष एवं भर्खरै निर्वाचित एक नम्बर क्षेत्रका सांसद प्रदीप यादवले यसबारे बोलेका थिए। मेरो बुवासँग जोडिएको समारोह भएकाले म त्यहाँ उपस्थित थिएँ।

‘मुसलमानलाई मुख्यमन्त्री बनायो भनेर यतिबेला वीरगन्जमा धमाधम पुत्ला जलाउने काम गरिरहेका छन्,’ यादवले भनेका थिए, ‘हाम्रो पार्टीले अल्पसंख्यक मात्र होइन, आफ्नो दलको सबैभन्दा श्रेष्ठ प्रदेश सभासदलाई अघि बढाउँदा यहाँ अरूहरूको टाउको किन दुखिरहेको छ?’

पछि परेका मधेसी समुदाय यो प्रदेशमा बल्ल अघि बढिरहेका बेला अल्पसंख्यकप्रति यहाँ अझै कति भेदभाव छ भन्ने प्रदीप यादवले गर्न परेको प्रतिरोधबाट बुझिन्थ्यो।

यस्तो अवस्थामा लालबाबु राउतले आफ्नो पदभार ग्रहण बेला अपनाएको हिन्दु परम्पराभित्र अन्तर्य मेरो निम्ति छर्लंग थियो। यसभित्र आफू इतरका मान्छे समेट्न राउतले अपनाएको हदैसम्मको लचकता पनि म देखिरहेको थिएँ।

पहाडे र मधेसी चिरा, मैथिली र भोजपुरी चिरा, सबभन्दा गरिब प्रदेशभित्रै आर्थिक श्रोत भएको क्षेत्र र नभएको क्षेत्रबीचको चिरा अनि हुँदाहुँदा हिन्दु र मुसलमानबीचको चिरा बेहोरिरहेको यो प्रदेश वास्तवमै सबभन्दा जटिल छ। अबका दिन यिनै चिरा लालबाबुका निम्ति सबैभन्दा ठूला चुनौती हुने पक्का छ। यस निम्ति उनले अहिलेबाट आफूलाई तयार राख्नुपर्नेछ। उनी तयार छन् भन्ने संकेत नै बिहीबारको पदभार ग्रहण समारोह थियो।

यति कुरा जानकारी गराउन मात्र म लेखिरहेको छुइनँ। विश्वविद्यालयमा पढाउँदै गरेका गुरूको मुख्यमन्त्री सम्मका यात्रा कम्ता रोचक छैनन्। गत वर्ष मात्र मैले लेखेको पुस्तक ‘वीरगन्जः मेरो सहरको कथा’ को पटाक्षेप लालबाबु राउतबाटै भएको थियो। शुक्रबार बिहान मेरो मनमा तिनै सन्दर्भ घुमिरहे।

दुई वर्षअघिको कुरा हो। लामो अन्तरालपछि म टेलिभिजनका पर्दा र अखबारका तस्बिरमा एउटा चिनेको अनुहार देखिरहेको थिएँ। मेरो चिनाइ र त्यहाँ उनको उपस्थितिबीच कता के मिलिरहेको थिएन। सरकारसँग वार्ता गर्न संघीय लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट बनाइएको उच्चस्तरीय टोलीका तीनमध्ये उनी एक सदस्य थिए। मैले यो अनुहार राम्ररी चिनेको हुँ। ठम्याउन गाह्रो परिरहेको थियो। को हुन् यिनी?

लालबाबु राउत, उपेन्द्र यादवको पार्टीका केन्द्रीय उपाध्यक्ष र त्यतिबेला वीरगन्जबाटै समानुपातिकका सांसद।

मेरो जिज्ञासा अझ बढ्न थाल्यो।

थप पत्ता लाग्यो।

उनी वीरगन्ज उपमहानगरपालिकाका कर्मचारी थिए। जिन्सी फाँट प्रमुख।

त्यतिबेलै मेरा अगाडि अरू केही दृश्य नाच्न थाले। त्यो थियो उही ठाकुरराम क्याम्पसको।

क्याम्पसमा देखेको निकैपछि मैले उनलाई नगरपालिकामा कार्यरत भेटेको थिएँ। विद्यार्थीमाझ रमाइरहने तन्नेरी शिक्षकलाई नगरपालिकाको जञ्जालमा देख्दा अलि अनौठो लागेको थियो। यो पछिल्लो अवस्थाले त झनै आश्चर्य बनाएको थियो।

वीरगन्जमै बसेर पुस्तकको अन्तिम तयारी गरिरहँदा म लालबाबुको विषयमा जान्न आतुर भएँ। नगरपालिकाको जागिरदेखि मधेसी राजनीतिसम्मको उनको यात्राबारे विस्तारमा जानकारी मिल्यो।

म स्तब्ध भएँ।

उनी ठाकुरराम क्याम्पसमा अध्यापनरत रहेकै बेला वीरगन्ज उपमहानगरपालिकामा जनसम्पर्क अधिकारी पदमा आवश्यकता खुलेको रहेछ। त्यो बेला खासमा उपमहानगरलाई अंग्रेजी भाषामा दख्खल भएका अधिकृत चाहिएको थियो। विदेशीसँगको सम्पर्क र सम्बन्ध विस्तार गर्ने उद्देश्यले त्यो पद सिर्जना भएको थियो। ०५२ सालमा त्यस निम्ति आवेदन दिए र अंग्रेजीमा स्नातकोत्तर गरेका लालबाबुले पहिलो नम्बरमा नाम निकाले।

०६० साल अन्तिमसम्म नगरपालिकामा उनको जागिरे जीवन सामान्य चल्दै गयो। पछिल्लो समय उनी जिन्सी फाँट प्रमुख थिए। त्यतिबेलै सूर्यबहादुर थापा प्रधानमन्त्री भए। स्थानीय निकायमा धमाधम मनोनित गर्न थालियो। स्थानीय विकास मन्त्री भएकाले कमल थापाको निर्णयमै सबै नियुक्ति हुन्थ्यो। वीरगन्जमा भने टुंगो गर्ने सर्वाधिकार उनका पुराना सहयोगी राजीव पराजुलीलाई थियो। पहिलो लटमै वीरगन्ज उपमहानगर प्रमुख मेरो बुबालाई बनाइयो। तीन महिना नबित्दै मागेको पाँच लाख रुपैयाँ चन्दा नबुझाएका कारण माओवादीले उहाँको हत्या गरिदिए।

त्यसपछि पराजुलीकै अर्का विश्वासपात्र प्रदीप सुवेदी नगरप्रमुख बने।

त्यसै वर्ष चैत चौथो साता नगरपालिका बोर्डले भारतको सिन्टेक्स कम्पनीले उत्पादन गर्ने ‘ह्विल ब्यारो’ (एकपाङ्ग्रे ठेला) १ सय ५० थान खरिद गर्ने निर्णय लियो।

त्योबेला आर्थिक प्रशासन नियमावलीअनुसार दुई लाख रुपैयाँभन्दा बढीको सामान किन्न टेन्डर आह्वान गर्नुपर्ने अनिवार्य थियो। एउटैको १० हजारसम्म पर्ने त्यो ठेला किन्दा त्यसभन्दा निकै बढी पैसा आवश्यक पर्थ्यो। टेन्डर अनिवार्य भयो। तर, बोर्डले निर्णय गर्ने बेलामै ‘यो प्रोप्राइटरी सामान भएकाले यसका अन्य कुनै पनि डिलर नभएको अवस्थामा बिना टेन्डर खरिद गर्ने’ भनेर ठाडो आदेश दियो।

त्यो ठेला बिक्री गर्न आफूलाई सिन्टेक्स कम्पनीको नेपालस्थित एक मात्र डिलरका रूपमा उभ्याउँदै श्यामसुन्दर टिबडेवालको बुहारीका नाममा एउटा फर्ममार्फत आवेदन आयो। उनै श्यामसुन्दर दोस्रो संविधानसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का समानुपातिक तर्फका सांसद थिए।

नगरपालिका बोर्डले १ सय ५० वटा ठेला खरिद गर्ने निर्णय गरे पनि कर्मचारीहरूले एकै चोटि त्यति धेरै आवश्यक नरहेकाले सुरुमा ७० वटा मात्र किन्ने पहल गरे। बोर्डले निर्णय गरेको महिना नबित्दै नगरपालिकामा ठेला भित्रियो र भुक्तानी पनि भयो।

जानकारका अनुसार श्यामसुन्दरहरूले यो ठेला ‘पाइलट प्रोजेक्ट’ का रूपमा वीरगन्ज उपमहानगरमा छिराएका थिए। तत्कालीन गृह एवम् स्थानीय विकास मन्त्री थापाको प्रभाव प्रयोग गर्दै मनोनित पदाधिकारीमार्फत मुलुकभरका स्थानीय निकायमा यसलाई पुर्याउने योजना थियो। तर, अत्यन्त कम मूल्यमै पाइने भनेर सहजै अनुमान लगाउन मिल्ने प्लास्टिकको त्यो एकपाङ्ग्रे ठेलालाई यसरी १० हजार रुपैयाँ उपमहानगरले तिरेपछि व्यापक चर्चाको विषय बन्यो। किनेको दुई महिना नबित्दै असार अन्तिम साता अख्तियारले ठेलाकै विषयलाई लिएर वीरगन्ज उपमहानगरमा छापा मार्यो।

मनोनित नगरप्रमुख र बोर्डका सदस्यलाई अख्तियारले त एउटा बयान गराएर उन्मुक्ति दियो। कारबाहीमा भने तत्कालीन कार्यकारी अधिकृत ध्रुव कार्की, लेखापाल हरिकिशोर चौरसिया र जिन्सी प्रमुख लालबाबु राउत परे।

कम्तीमा कार्की त बोर्ड बैठकमा उपस्थित थिए। अरू दुई मधेसी अधिकृत भने बित्थामा भ्रष्टाचारी ठहर गरिए। सबै निलम्बनमा परे।

त्यसपछि विशेष अदालतको चक्कर सुरु भयो। त्यहाँ पनि अन्तिममा फैसला फेरि यिनै बेकसुरविरुद्ध भयो। फैसलामा भनिएको थियो–
‘राजनीतिक व्यक्ति भनेका अज्ञानी हुन्छन्। उनलाई कानुनको ज्ञान हुँदैन। त्यसैले स्थानीय विकास मन्त्रालयलाई पत्र लेखेर उनीहरूलाई तालिम दिन लगाउने र कर्मचारीहरूलाई कारबाही चलाउने।’

त्यति बेला उपमहानगरका उपमेयर त्यसै पदको दोस्रो कार्यकालमा थिए जो लामो समयदेखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता पनि थिए। त्यसबाहेक बोर्डले सल्लाह लिने गरी कानुनी सल्लाहकार पनि हुन्थे। तर, बोर्डले दिएको आदेश कार्यान्वयन गर्ने कर्मचारी घानमा परे।

स्थानीय स्वायत्त शासन ऐनअनुसार बोर्डले गरेका त्यस्ता निर्णयलाई ठाडो कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको कर्मचारीहरू बताउँछन्।

कारबाहीमा परेकामा चरम निराशा, आक्रोश र कुण्ठा सम्झेर अहिले पनि नगरपालिकाका समकक्षी कर्मचारीहरू धिक्कार्छन्।

विशेष अदालतबाट हारेपछि यो मुद्दा सर्वोच्च पुग्यो। लालबाबुहरू आठ वर्षसम्म जागिरबाट निलम्बित भ्रष्टाचारीका रूपमा अदालत धाइरहे। अन्तिममा सर्वोच्चले ‘निर्णय कार्यान्वयन गर्नेलाई सजाय दिनु कानुनसम्मत नरहेको’ भनेर फैसला सुनायो।

उनीहरूको निधारबाट भ्रष्टाचारीको कलंक मेटियो। आठ वर्षपछि नगरपालिकाको जागिर पनि फिर्ता भयो। कार्यकारी अधिकृत कार्कीको अवकाश बेला भइसकेकाले उनले थोरै समय मात्र काम गर्न पाए। लेखापाल चौरसिया उही पदमा कार्यरत मात्र होइन, अझ पाँच वर्षसम्म उनको पदावधि रहनेछ। जिन्सी प्रमुख लालबाबु राउत भने नगरपालिकामा स्थायी अधिकृतको जागिरबाट राजीनामा दिएर मधेसी राजनीतिमा होमिए।

२०७२ साल कात्तिक १५ गते।

सरकारी वार्ता टोली प्रमुख एवम् उपप्रधानमन्त्री कमल थापासँग लालबाबु राउत फेरि आमनेसामने हुँदै थिए। सरकार र मधेसी मोर्चा बीचको वार्ताकै निरन्तरता थियो यो।

मैलै वीरगन्जबाटै एकाबिहानै वार्ता टोली सदस्य राउतलाई फोन गरेर जिज्ञासा राखेँ। दुईतिहाइले कुरा मिलाउनुपर्ने विषयमा चौथो दलका नेता थापालाई नेतृत्व दिनुले नै सरकारी पक्षको मनस्थिति झल्काउँथ्यो। तैपनि वार्ताका निम्ति आफूहरू तयार भएर जाने राउतले बताए।

वार्ता सन्दर्भमा केही बेर कुरा गरिसकेपछि मैले जिज्ञासा राखेँ, ‘कमल थापा नै सम्बन्धित मन्त्री भएका बेला एउटा कर्मचारी तपाईंमाथि त्यत्रो अन्याय भएको थियो। आजभोलि वार्तामा बस्दा थापा कुनै संकेतबाट पनि त्यसका निम्ति दुःख मानेका वा क्षमा माग्ने मुडमा देखिन्छन्?’

‘कमल थापा ठूला मान्छे हुन्,’ त्यतिबेला राउतले भनेका थिए, ‘मसँग त्यस्ता कुरा के गर्थे?’

उनीहरूकै कारणले त्यत्रो दुःख पाएको भए पनि यसबारे थापालाई आफूले वार्ताकालभर संकेतसमेत नदिएको उनले बताए। राजनीतिको फराकिलो र गम्भीर दायित्वमा आइसकेपछि पुराना व्यक्तिगत आग्रह–पूर्वाग्रहको कुनै कामै नहुने भएकाले अब यस्ता कुरा सोच्नै छाडेको राउतको भनाइ थियो।

त्यस दिन हाम्रो कुरा यतिमै टुंगियो।

अलिदिनमै फुर्सदिला भएका लालबाबु वीरगन्ज आइपुगे। मेरो घरमा पत्रकार चन्द्रकिशोर लगायत बसेर कुराकानी गरिरहेका थियौं। वीरगन्ज आइपुग्नेबित्तिकै लालबाबु पनि मेरै घरको जमघटमा मिसिन आइपुगे। हामीबीच जारी वार्ताका विषयलाई लिएर विस्तारमा कुराकानी भए। मलाई भने लालबाबुकै बारेमा थप जान्न मन लागिरहेको थियो।

पुस्तौंदेखि पर्साकै जगरनाथपुरमा बसोबास गर्दै आएका सम्पन्न मुस्लिम परिवारका सदस्य लालबाबु नजिकैको पोखरियाबाट एसएलसीपछि पढ्न वीरगन्ज आएका थिए। त्यति बेला उनको संगत नेपाल विद्यार्थी संघका नेतासँग भयो। उनी नेविसंघ आबद्ध रहेरै ठाकुरराम क्याम्पसदेखि त्रिविविको अंग्रेजी विभागसम्म पुगेर पढाइ सिध्याए।

२०४९ सालदेखि अस्थायी शिक्षक रूपमा ठाकुरराम क्याम्पसमा पढाउन सुरु गरे। त्यसैगरी ०५२ सालदेखि वीरगन्ज उपमहानगरमा अधिकृत भए। नगरपालिकामा कार्यरत रहँदै उनको भेट फोरम नामको संस्था चलाएर हिँडेका उपेन्द्र यादवसँग भयो। तीनवटा कलेजमा पढाउने र नगरपालिकाका स्थायी जागिरे उनी आफ्नै दुनियाँमा व्यस्त थिए। ट्युसनसमेत गरेर पर्याप्त कमाइ पनि थियो। यसैबीच सरकारी क्याम्पसमा पढाएर अन्यत्र जागिर पनि खाएको भनेर केहीले टीकाटिप्पणी गरेपछि उनले त्रिविको जागिर छाडिदिए।

त्रिविविको जागिर छाडेको चार महिना नबित्दै उनी आफू संलग्नै नरहेको नगरपालिकाको भ्रष्टाचारमा मुछिए। जिन्सी फाँट प्रमुख रहे पनि राजनीतिका केन्द्रदेखि जिल्लासम्मका हस्तीको योजनाबद्ध बदमासीमा आफूले गर्न सक्ने केही नभएपछि चुप लागेर बसेको उनको दाबी छ। आफ्नै सहरका मान्छे आएर किचकिच गरेपछि उनलाई नाइँ भन्न पनि अप्ठेरो थियो।

अरूले नै लेखेर ल्याएको टिप्पणी पढ्दा पनि नपढेर सही गरिदिएको उनी बताउँछन्। यति गरेकै कारण अख्तियारले उनलाई भ्रष्ट ठहर गरिदियो र नगरपालिकाको जागिरबाट निलम्बित भए। अलि अघिसम्म कलेज र नगरपालिका धाएर व्यस्त जीवन बाँचेका उनी अचानक फुर्सदिला भए।

त्यतिबेलै उनले पहिलो मधेस आन्दोलनका साथ उदाएको मधेसी जनअधिकार फोरमको राजनीतिमा आफूलाई अग्रसर गराए।

नगरपालिकाको जागिरमा लामो समय बिताउँदा पनि लालबाबुले आफ्नो व्यक्तित्व सफा राखेका थिए। एक त उनी पुग्दो घरका सदस्य थिए। त्यसबाहेक एकछिन पनि फुर्सद नबसेर जताततै पढाउँदै हिँड्दाको अतिरिक्त आम्दानी। सुपारी चपाउने लत पनि नराखेका उनीसँग खर्च गर्ने ठाउँ पनि थिएन।

‘म एक पैसा लप्पनछप्पन गर्दिनथेँ,’ उनी भन्छन्, ‘चाडपर्व बेला आउने अतिरिक्त तलब पनि फाँटका साना कर्मचारीलाई बाँडिदिन्थेँ।’

त्यस्ता मान्छेलाई अचानक नखाएको विष लाग्दै थियो। नगरपालिकामा अख्तियारले छापा मारेको केही दिन भइसकेको थियो। यस्तोमा एक दिन फेरि उनलाई नगरप्रमुख प्रदीप सुवेदीको फोन आयो।

‘लालबाबुजी, राजीव पराजुली दाइले आदर्शनगरको टाइम सेन्टरबाट भर्खर एउटा सामान किनेर लैजानुभएछ। त्यसको भुक्तानी गरिदिनुस् न।’

उसै त अख्तियारको कब्जामा परेर रनभुल्ल भएका लालबाबुलाई के गर्ने कसो गर्ने भेउ नै मिलेन। यस्तो बेला नगरपालिकाको पैसा कसरी चलाउने? निजी कलेजमा पढाएर पाएको तलब गोजीमा थियो। त्यही पैसा निकालेर पसलेलाई २० हजार रुपैयाँ बुझाइदिए। लालबाबुका अनुसार त्यो पैसा उनले कहिल्यै फिर्ता लिएनन्।

लालबाबुलाई पहिलोपटक नगरपालिकाको जागिरका निम्ति त्रिविको काम व्यर्थै छाडेछु भन्ने पछुतो भयो। कहाँ स्नातक अध्ययन गरिरहेका ताजा ताजा तन्नेरीसँग अंग्रेजी शिक्षकका रूपमा दैनिक उठबस, कहाँ अरूले गरेका बदमासीको बोझ उठाउनुपर्ने नगरपालिकाको जागिर।

त्यसमाथि कलेजमै पढाइरहेका उनका कतिपय साथी बीचबीचमा अन्यत्र गएर विद्यावारिधि गर्दै फर्केको देख्दा उनलाई इर्ष्या पनि लाग्थ्यो।

नगरपालिका मात्र होइन, यो मुलुकको सारा संयन्त्र नै आफूले भ्रष्ट देखेको लालबाबु सुनाउँछन्। उनका अनुसार उनीहरूमाथि विशेष अदालतमा मुद्दा लगाउनुअघि अख्तियारका अनुसन्धान अधिकृतले मुख खोलेरै पैसा मागेका थिए जसलाई एक पैसा पनि दिन्नँ भनेर लालबाबु नै अडिदिएका थिए।

लालबाबुलाई पहिलो संविधानसभाकै बेला उपेन्द्र यादवले सभासद बन्न प्रस्ताव गरेका रहेछन्। तर, आफूले भ्रष्टाचार मुद्दा खेपिरहेकै कारण त्यो पद लिन मानेनन्। वीरगन्जकै अर्का साथीलाई दिलाइदिए।

‘आफूले गल्ती नगरेको भए पनि टाउकोमा झुन्डिएको कलंक बोकेर जिम्मेवार ओहदामा बस्नु राम्रो हुँदैनथ्यो,’ उनले भने, ‘त्यसैले पहिलो संविधानसभामा सभासदमात्र होइन, अरू पनि पदको प्रस्ताव अस्वीकार गरेको थिएँ।’

कसैले गल्ती गरेको छ वा छैन भन्ने निर्क्यौल नगरी अख्तियारले मुद्दा चलाएकै भरमा भ्रष्टाचारीको पगरी लगाइदिने हाम्रो प्रवृत्तिले पनि उनलाई पिरोलेको रहेछ। त्यति बेला ‘भ्रष्टाचार गरेको थियो र त गयो’ भनेर समाजमा गरिएका टिप्पणीले उनको परिवारै तनावबाट गुज्रनुपरेको थियो। मुद्दा चलुन्जेल आठ वर्षसम्म उनले समाजमा भ्रष्टाचारीको ताडना खेप्दै हिँड्नुपर्यो। यसलाई नमिठो पाठ मान्दै हिजोआज उनले त्यति सम्झन छाडिसकेका छन्।

के नगरपालिकामा त्यो काण्ड नभइदिएको भए उनी यसरी राजनीतिमा आउँथे? मेरो जिज्ञासा थियो ।

‘मैले राजनीति गर्छु भनेर सोचेकै थिइनँ,’ उनले भने, ‘यो क्षेत्रमा आएको भए पनि यति चाँडै आउने थिइनँ।’

हिजोआज उनलाई आज यो स्थानमा ल्याइपुर्याउनै विगतमा ती घटना भएका होलान् भन्ने लाग्न थालेको छ। संघीय नेपालका प्रथम मुख्यमन्त्री।

लालबाबुले गुमाएका छैनन्। बरु आफ्नो नियति फेरि नदोहोरियोस् भनेर लड्ने अठोट गरिरहेका छन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com