अमेरिकामा एसाइलम गर्नेलाई दुईबर्षको वर्क परमिट


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

अमेरिकामा शरणार्थीका लागि आवेदन दिनेहरुले अबदेखि दुईबर्षको वर्क परमिट पाउने भएका छन् । यस अघि शरणार्थीका लागि आवेदन दिनेहरुले एकबर्षको लागिमात्र वर्क परमिट पाउँदै आएका थिए ।

अक्टोबर ५ देखि लागुहुने गरी दुईबर्षको वर्क परमिट पाउने व्यवस्था गरिएको युएससीआईएसले जनाएको छ । एसाइलमका लागि आवेदन दिइसकेपछि आवेदनबारे अन्तिम निर्णय नहुँदासम्मका लागि आवेदकले अमेरिकामा बसेर कामकाज गर्नका लागि वर्क परमिट पाउँदै आएका छन् ।

यसअगाडि सुरुमा एकबर्षका लागि वर्क परमिट प्राप्त गर्ने र त्यसपछि हरेक बर्ष रिन्यु गर्नुपर्ने अवस्था रहेपनि अबदेखि भने सुरुमै दुईबर्षका लागि वर्क परमिटको व्यवस्था गरिएको छ भने रिन्यु गर्दा पनि दुईबर्षका लागि वर्क परमिट प्राप्त हुनेछ ।

यो व्यवस्था अक्टोबर ५ सम्म एसाइलमका आवेदन पेन्डिङ रहेका वा अक्टोबर ५ पछि आवेदन दिनेहरुका हकमा लागु हुनेछ । नयाँ व्यवस्थापछि अमेरिकामा रहेका हजारौं नेपालीहरु लाभान्वीत हुने भएका छन् । अहिले हजारौं नेपालीहरुका एसाएलम आवेदन अदालतमा पेन्डिङ रहेका छन् भने हजारौंका आवेदनहरु युएससीआईएसमा नै पेन्डिङ रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com