कांग्रेसमा मनोनयन दसैंपछि


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

कांग्रेस सभापति शेरबहादुर देउवाले दसैंअघि पदाधिकारी मनोनयन नगर्ने भएका छन् । सभापति देउवाले लामो समयदेखि दसैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका अनुसार, आकांक्षीहरूलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् । महाधिवेशन भएको सात महिना बितिसक्दा पनि सभापति देउवाले एक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेका छैनन् । पदाधिकारीसहित केन्द्रीय सदस्य र विभागलाई पूर्र्णता नदिएकाले देउवा पार्टीभित्रै दिनदिनै आलोच्य बन्दै छन् ।

सभापति देउवाले दसैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिका आकांक्षीलाई मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेका हुन् । स्रोतका अनुसार देउवालाई महामन्त्री, सहमहामन्त्री र प्रवक्ताको आकांक्षी मिलाउन पनि हम्मेहम्मे परेको छ ।

उपसभापतिमा विमलेन्द्र निधि, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठ आकांक्षी छन् । खुमबहादुरलाई बाहिर राखेर देउवा अघि बढ्न सक्ने स्थितिमा छैनन् । तर, भ्रष्टाचार अभियोगमा जेल परिसकेका खुमबहादुरलाई उपसभापति बनाउँदा गलत सन्देश जाने र आफ्नो राजनीतिक साख पनि घट्ने देउवाको विश्लेषण छ । उपसभापतिका लागि देउवाका प्रमुख रोजाइ निधि हुन् । उता, गोपालमानले पनि उपसभापतिमा आफ्नो विकल्प नभएको भन्दै लबिङ गरिरहेका छन् । स्रोतका अनुसार देउवाले अन्तिम समयमा निधिलाई नै उपसभापति बनाउनेछन् । निधि देउवाको अत्यन्तै विश्वासपात्र मानिन्छन् । निधि अहिले वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री छन् ।

महामन्त्रीमा पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणले आकांक्षा राखेका छन् । खाँण रक्षामन्त्री रहेकाले उनको सम्भावना न्यून छ । पूर्णबहादुर र ज्ञानेन्द्रबहादुरमा पूर्णबहादुर अघि छन् । स्रोतका अनुसार निधिलाई उपसभापति बनाएको अवस्थामा पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन पूर्णबहादुरलाई महामन्त्री नबनाई देउवालाई सुखै छैन । राजनीतिक सन्तुलन तलमाथि भएको अवस्थामा देउवा केन्द्रीय समितिमा नै अल्पमतमा पर्ने अवस्था छ । यो स्थिति आएको अवस्थामा पदाधिकारीमा मनोनयन गरिएका व्यक्ति केन्द्रीय समितिबाट अनुमोदन हुने अवस्था पनि छैन ।

यसैगरी, सहमहामन्त्रीमा रमेश लेखक, एनपी साउद, भीष्म आङदम्बेलगायतका नेताहरू आकांक्षी देखिएका छन् । सहमहामन्त्रीमा आफ्नो पक्षबाट मनोनयन गर्नुपर्ने दबाब रामचन्द्र पौडेलपक्षधर नेताहरूले देउवालाई दिएका छन् । विगतमा सुशील कोइरालाले देउवा पक्षबाट पूर्णबहादुरलाई सहमहामन्त्री मनोनयन गरेकाले यो ‘परम्परा’ जोगाउन पनि देउवाले आफ्नो पक्षलाई सो पद दिनुपर्ने पौडेलपक्षधरको भनाइ छ । पौडेल पक्षबाट सहमहामन्त्रीमा महेश आचार्य र आनन्द ढुंगानालगायत आकांक्षी रहेका छन् ।

देउवाका निजी सचिव केशव जोशीले पार्टी सभापतिले चाहँदा चाहँदै पनि दसंैअघि पदाधिकारीमा मनोयन गर्ने सम्भावना नभएको बताए । ‘सभापतिज्यूले चाहे पनि दसैंअघि पदाधिकारीमा मनोनयन गर्ने स्थिति छैन । पदाधिकारीको मनोयन केन्द्रीय समितिबाट अनमोदन गर्नुपर्ने हुन्छ, केन्द्रीय समितिको बैठक दसैंअघि बस्ने स्थिति छैन,’ जोशीले राजधानीसँग भने । देउवा पदाधिकारी मनोनयनअघि विभागहरू गठन गर्ने तयारीमा जुटेका छन् । देउवानिकट स्रोतका अनुसार उनी दसंै र तिहारको बीचमा ४२ वटै विभागमा मनोनयन गर्ने तयारीमा छन् । पदाधिकारीमा मनोयन गर्नुभन्दा विभागहरूमा मनोयन गर्न उनलाई सहज हुने स्थिति छ ।

दसैंअघि देउवाले राज्यमन्त्रीमा पनि सिफारिस गर्ने सम्भावना कम हुँदै गएको देउवानिकट स्रोतले बताएको छ । यसअघि, देउवाले दसैंअघि आठजनालाई राज्यमन्त्री बनाउने तयारी गरेका थिए । यसका लागि उनले आफूनिकट केही व्यक्तिसँग छलफल पनि गरेका थिए । तर, राज्यमन्त्रीमा पनि आकांक्षी बढी भएपछि देउवा पछि हटेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com