अमेरिकामा रहेका नेपाली डिप्रेशनको शिकार, यसरी बचौं


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

-मोहनराज बराल / अमित अभय अधिकारी

काठमा धमिरालाग्दा बाहिरबाट सुन्दर देखिएपनि भित्र खोक्रो भएर सकिन लाग्दासम्म पनि चाल पाइदैन, यस्तै मानिस बाहिरबाट हेर्दा सुखी, खुसी र सफल देखिए पनि उस भित्रको छटपटी, पिडा, समस्याले खोक्रो भइसकेको हुन्छ, जसको सुइको कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्दासम्म पनि परिवार र साथीभाईलाई हुदैन । विज्ञानले विभिन्न नाम र व्याख्या गरेपनि सहज र चलनचल्तीमा डिप्रेसन भन्ने गरिन्छ जसले थूप्रैको हाँसो र खुसी उजाडेको छ ।

डिप्रेसन नामक धमिरा नेपालमा त छदै छ तर विदेशमा रहेका नेपालीमा निकै नै डरलाग्दो रुपमा डेरा जमाएको छ । विश्वका विभिन्न मूलुकमा रहेका नेपालीहरुको आत्महत्याको समाचार आइनैरहन्छन् जसको कारण स्पष्टरुपमा कसैले कहिल्यै पनि थाहा पाउदैनन् । यद्यपि आफ्नो मनको छटपटी अन्यसंग पोख्न नसक्दा वा सुनिदिने कोही नुहँदा विकल्पहिन मानेर आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

नेपालजस्तो अति कम विकसित मुलुकबाट अमेरिका आउने सपना नदेख्ने कमै होलान् तर अमेरिका आइसकेर पनि आफ्नो सपना पूरा गर्न छाडी किन रोजिन्छ त आत्महत्याको डरलाग्दो समाधान ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के देखे मैले के भयो ऐले? नेपालमा हुँदा चलचित्रमा देखिएको दृश्य, सम्पादनसहितका सुविधा, ठूला महल, चमकधमक र विकसित सहर देखिने काचँका पर्दाका दृश्य आफ्नै अगाडि स्वेतसत्य बनेर आउछन् । तर सत्य ती देखिएका दृश्य मात्रै कहाँ हुन् र ? सत्य त निकै फरक छ, यथार्थ निकै पर । अग्रेजीमा भनिन्छ, क्लोज ऐट सो फार , अर्थात छन त छ तर सोचेभन्दा अलग, धेरै टाढा । हुन त नेपालमा पनि आत्महत्या नहुने होइनन् तर अर्काको देशमा आएर मानिसले आफ्नो प्राण किन लिन्छ ? प्रश्न मृतकसंगै अनुत्तरित रह्यो तर त्यसपछिको परिवेश लेखाजोखा गर्दा सामान्य विषयले पनि मानिसलाई बाध्य बनाएको छ, प्राणलिला समाप्त गर्न ।

पछिल्लो समय यस प्रकारको समस्याले जुनसुकै भिसा प्रणाली अन्तरगत अमेरिका आउने नेपालीलाई समातेको छ । मूलतः अध्यागमनको सिमित घेरामा अनि थूप्रै कर्तव्यले बाधिने नेपालीका असिमित सपना र चाहनाको मिलन हुन नसक्नु वा मिलन हुन कठिन हुनुले निम्त्याउने आफैसंगको युद्धको अवस्था हो, डिप्रेसन ।
नेपाली अमेरिका आउन थालेको थूप्रै वर्ष भइसक्यो । यी थूप्रै वर्षमा कतिपयले कालगतिले ज्यान गुमाउनु पर्यो भने कतिपयले आफैले आफ्नो जिवन समाप्त गर्ने बाटो समाते ।

न्युयोर्कको रिजउडमा बस्ने दाङका एक युवाले आफू बसेको घरको तीन तलाबाट हामफालेर आत्महत्या गरेका थिए । दलाललाई लाखौं रकम बुझाएर मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिरेका उनले अमेरिका पस्न गरेको दुःख पनि बिर्सिएर आत्महत्या सजिलो माने । सन् २०१४ मा नोभेम्बरमा क्यालिफोर्नियामा काठमाडौंका अर्का युवाले पुलबाट हामफालेर आत्महत्या गरे । सानफ्रान्सिस्कोमा रहेको गोल्डेनगेट पुलबाट हाम फालेर उनले आत्महत्या गरेका थिए । टेक्सासमा बस्दै आएका उनले सानफ्रान्सिस्को विमानस्थलबाट ओर्लेर सिधै पुलमा पुगेर हाम फालेका थिए ।

सन् २०१३ को सेप्टेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटमा बस्दै आएका २४ वर्षीय अर्का युवाले न्युयोर्ककै लङ आइल्याण्ड सिटी इस्ट रिभरमा आत्महत्या गरेका थिए । पाँचवर्ष अमेरिकामा विताएपनि उनले अगाडी बाटो देखेनन् र आत्महत्या नै रोज्न पुगे । सन् २०१३ को जुनमा अमेरिकाको लुजियानमा नेपाली विद्यार्थीले आत्महत्या गरे । २० वर्षीय विद्यार्थी उनले लुजियानामा आफू बस्ने कोठामा आत्महत्या गरेका थिए । सन् २०१२ को अगस्त २४ मा ३७ वर्षीयाले अमेरिकाको मेरिल्याण्डमा झुण्डिएर आत्महत्या गरे । २६ लाख रुपैया खर्च गरेर दलालमार्फत मेक्सिको हुदै अमेरिका आएका उनी डिप्रेशनका विरामी रहेको बताइएको थियो । ६ महिना लगाएर अमेरिका आएका उनले डेढवर्षमा पनि आफ्नो ऋण तिर्न नसकेको अवस्थामा आत्महत्या गरेका थिए । त्यस्तै सन् २ हजार १७ को अन्तिममा मिसिसिपीका एक विद्यार्थीले पनि तालको नजिकै झुन्डिएर आत्महत्या गरे । कलेजको समस्याले तनावमा रहेका उनले कामबाट सिधै गएर आत्महत्या गरेका थिए ।

माथीका तथ्यांकमा हामीले कसैको पनि नाम उल्लेख गरनौं आत्महत्याको पिडाबाट आफन्त र परिवारको सदस्य गुमाएकालाई थप पिडा हुने गरि घाउ कोट्टयाउनु हाम्रो नियत कहिल्यै पनि होइन । हरेक उमेरसमूहका व्यक्तिले आत्महत्याको बाटो रोजेका छन् । घरपरिवार श्रीमतिसहित अमेरिका बस्दै आएका परिपक्व व्यक्ति हुन् वा भर्खरै २० वर्षमा टेक्दै गरेको कलिलो जीवन । कसैले कसैसंग खुलेर कुरा नगर्ने र गर्न नचाहने यस बिमारीले धमीराले काठ खाएजस्तो खोक्रो बनाएको छ थूप्रैलाई । कतिपयले समयमै परिवार र साथीको हेरचाह अनि संरक्षणमा पूनः सामान्य जीवन शैलीमा फर्किन्छन् त कतिपय सदाको लागी अस्त हुन्छन् ।

हुन पनि अहिले यो समस्या कुनै जमानाको एड्स जस्तै भएको छ । कसैले आफूलाई भइरहेको समस्या र व्यवहारमा आएको परिवर्तनको बारे अरुसंग भन्ने र कुरा गर्ने हिम्मत गर्दैन, हिम्मत नै गरे पनि समाजको एक पाटोले उल्टो पागलको संज्ञा दिने गरेको पनि पाइएको छ । जसले गर्दा पनि आफ्नो यस समस्याबारे कमैले कसैलाई व्यक्त गर्ने गर्दछन् ।

नेपालबाट ऋण धन गरेर अमेरिका पसेको दिन देखिनै आफूलाई कामप्रति अभ्यस्त बनाउने सोच, नेपाली रुपैयासंग डलरको लोभलाग्दो सटही दरले पनि कुनै पनि व्यक्तिलाई नयाँ देशको संस्कृत्तिसंग भिज्ने र घुलमिल गर्ने मौका दिदैन, जसले गर्दा कालान्तरमा त्यस्ता व्यक्ति आफूलाई एक्लो पाउने, अमेरिकाप्रति घृणा पैदा गर्ने र जीवनप्रति हार मान्दै जाने गर्दछन् । नेपालमा घाम लाग्दा अमेरिकामा रात पर्छ भन्नुको तात्पर्य हरेक क्षेत्रमा आकाश जमिनको फरक रहेको छ । त्यसैले कुनै पनि व्यक्ति कम्तिमा आफू रहेको देश र परिवेश बुझ्ने र जान्ने प्रयास गर्नु आवस्यकता रहन्छ । त्यसमाथि कलेज जानुपर्ने समय र त्यसबाट उघ्रेको समयमा अन्य काम सम्पन्न गर्ने दवाव मानिस साच्चै मेसिन जस्तै बन्छ । जसरी मेसिन केही नदेखी एकोहोरो चलिरन्छ त्यसैगरि अगाडि बढ्ने मानिस मेसिन जस्तै बन्दा परिवार र साथीबाट विस्तारै टाढा भएको महशुस गर्न थाल्छ ।

थोरै समय र धेरै जिम्मेवारी बोकेको व्यक्तिले कम समयमा थूप्रै चाहना राख्छ, जसले गर्दा कतिपय उसका चाहना पूरा हुन सक्दैनन् वा सफलता हात पर्दैन् जसले गर्दा पनि उसमा आफूप्रति नै निराशा र हिनताबोध पैदा भएर आउने गर्छ ।

“आफूभन्दा २० वर्ष अगाडि आएको व्यक्तिलाई हेरि आफूलाई कमजोर ठान्ने प्रवृत्तिले पनि नेपाली समाजमा कतिलाई पिरोलेका छ । कुनै पनि व्यक्तिको सफलताबाट पाठ सिक्नु पर्छ तर उसको स्थानमा पुग्न उसले खर्चेको समय, लगन र परिश्रम पनि मनन गर्नु आवस्यक छ । रोम एकैदिनमा बनेको होइन भन्ने तथ्य कहिल्यै भूल्नु हुदैन ।

अमेरिकामा भित्रने विद्यार्थी हुन् वा परिपक्व व्यक्ति नेपालमा जिउदैं आएको जिवनशैली र आफ्नो पदिय हैशियत अमेरिकामा प्राप्त नहुदा पनि मानिसको मनमा आफूप्रति घृणा र आफैलाई कमजोर मान्ने भावना पैदा हुन्छ । जसले गर्दा उसले आत्महत्याको बाटो रोजेको छ।’ नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष कृष्ण लामिछानेको अनुभव छ ।

नेपालबाट हेर्दा अमेरिकाजस्तो देशमा गएको छ भन्ने सोच पनि यहाँ रहनेका निम्ति थप दवावको विषय बनेको छ । अमेरिकाबाट केही नगरी फिर्ता जान नहुने र यहाँ आफूले सोचेकोजस्तो केही नभएको ठानी थूप्रैले आत्महत्या गरेका छन् भने कतिपय अन्तिममा परिवारको सहयोगमा नेपाल फर्किएका छन् । त्यसैले आफ्नो अमेरिकाको अवस्थाको बारे परिवारलाई जानकारी दिन र परिवारले पनि पारिवारिक प्रतिष्ठा नसोची आफ्नाको समस्यालाई समाधान गर्नतर्फ निकै गम्भिरताका साथ लाग्नुपर्छ । समाजले के भन्छ भनेर आफ्नो सन्तान नेपाल फर्किनुहुदैन, जसरी पनि अमेरिकामै बस्नुपर्छ भन्ने दवाबबाट मुक्ति दिन सक्नु परिवारको पनि दायित्व रहन्छ । अमेरिकाबाट नेपाल फर्कनु भनेको ९ रेक्टर बरावरको भूकम्पन जस्तो हुने अवस्थाको अन्त्य हुनु पर्छ, जीवन रहे नै सबथोक छ भन्ने तथ्य सबले बुझ्नु पर्छ ।

स्वतन्त्र अमेरिकी समाज र त्यसको बुद्धिमत्तापूर्ण प्रयोगमा कमि हुँदा थुप्रै परिवार विखण्डित भएका छन् र त्यो क्रम झन् तिब्र हुँदैछ । व्यस्तताको कारण एकअर्कालाई समय दिन नसक्दा हुने रिक्तता र त्यसको कारण पारिवारिक समस्याहरुले बिकराल रुप लिंदै छन् । आफ्ना भएपनि आफन्तसंग समय विताउन नभ्याउने वा नमिल्ने कारणले पनि नेपाली परिवार टुक्रिएको उदाहरण थूप्रै छ । कतिपय अवस्थामा त श्रीमान् भन्दा श्रीमतीको काम र आर्जन राम्रो भएको कारणले मात्रै पनि श्रीमान्मा डिप्रेसनको समस्या देखिएको अनुभव हाल न्यूयोर्क बस्दै आएका पत्रकार अनुज थापाको छ ।

आफूलाई पत्नीभन्दा कमजोर भएको ठानी हिनता महशुस गर्ने विद्धानहरु पनि छन् अमेरिकामा, जो बस्छन् विदेशमा तर सोच अत्यन्तै पूरानो राख्छन् । हेर्दा सानो समस्या हो यो तर यसैको युद्धले परिवार टुक्रिएका छन् सम्बन्ध र जीवनको डोर टुंिगएको छ ।

गाँजा, रक्सी लगायत लागु औषधको कुलतमा फस्नु, साथीसंगी चयनमा बुद्धिमानी नपुर्याउनु तथा आफ्नो मनोस्थीती र समस्याको बारे कसैसंग खुलेर कुरा नगर्नुले पनि मानिसले आफूलाई एक्ल्याउदै लैजाने र अन्त्यमा आफैलाई हानी गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठनको आकडा अनुसार हाल विश्वभर करिव १५ करोड मानिस डिप्रेसनको चपेटामा छन् । जसमध्ये करिव ५० प्रतिशतले मात्र सही उपचार र रेखदेख पाइरहेका छन् । यो रोग संसारको चौथो ठूलो स्वास्थ्य समस्याका रुपमा रहेको छ भने सन् २ हजार २० सम्म दोश्रो समस्याको रुपमा रहने अनुमान गरिएको छ भने अमेरिकाको मृत्युको प्रमुख कारणको १० औं स्थानमा पर्ने आत्महत्यामा ९० प्रतिशत कारण डिप्रेसन रहेको अध्ययनले देखाएको छ । करिव ४० वर्ष उमेर समूहका व्यक्ति जसले जीवनमा परिवार र शिक्षाको दायित्व र जिम्मेवारी बोक्ने उमेरसमूहमा रहेको हुन्छ त्यस्ता व्यक्तिहरु सबैभन्दा बढी डिप्रेसनको शिकार भएको पाइन्छ ।

मुख्यतः शारिरिक कमजोर, उदाशिनता, दृढ इच्छाशक्तिको अभाव, कमजोर आत्मबल, हिनताबोध, नकारात्कम सोच, अत्ति महत्वकांक्षा र जीवन जिउने चाहनामा कमी यस्ता कारणले मानिसलाई पेल्दै गएपछि ऊ डिप्रेसनको शिकार बन्न पुग्छ । त्यसमा यदि साथी र घर परिवारको राम्रो हेरचाह र मार्ग निर्देशन हुने हो भने कुनै पनि व्यक्ति सजिलै त्यसबाट निस्किएर सामान्य जिवन जिउन सक्छ । सामान्य रुपमा कुनै पनि व्यक्ति एक्लो हुदैं गएको छ भने उसलाई सुनिदिने र उसको मनोअवस्था बुझी मार्ग्निर्देशन गर्ने व्यक्ति भएको खण्डमा डिप्रेशनको शिकारमा कमी आउने छ । किनभने यो रोगको समाधानको पहिलो माध्यम नै घर भनिने गरिन्छ । नेपाल बाहिर रहनेको हकमा भने त्यहाँ रहने समाज र साथीको ठूलो भूमिका हुनु आवश्यक छ ।

डिप्रेशनले पिडितलाई मात्रै असर गर्दैन त्यसबाट उसको घर र एउटा समाजको पाटो नै संगसंगै प्रभावित हुन जान्छ, त्यसैले यस्तो अवस्थामा पुगेको व्यक्तिलाई जिस्काउने, मजाक उडाउने, होच्च्याउने गर्नु भन्दा उसको हौसला वृद्धि गर्न चासो दिनु आवस्यक र महत्वपूर्ण रहन्छ । त्यस्ता व्यक्तिमा उर्जा र सकारात्मक सोच प्रदान गर्न सक्नु आवश्यक रहन्छ । अमेरिकामा नेपालीको संख्या बढेसंगै थूपै्र संघसंस्था पनि खुल्दै आएका पनि छन् यद्यपि नदेखिने र नदुख्ने यो रोगले हानी नगरेसम्म कमैको ध्यान तान्ने गर्दछ जसले गर्दा पनि समस्याले बिकराल रुप लिइसकेको अवस्थामा मात्र समाधान खोज्ने तर्फ लागिन्छ ।

अमेरिका विकसित र सम्पन्न राष्ट्र हो , दृढ इच्छाशक्तिले यहाँ असम्भव केही पनि छैन तर कमजोर आत्मबल हुनेका निम्ति भने अमेरिका डरलाग्दो तथ्य हो ! सायद त्यसै भएर नै होला् सन् १९५६ मा नै एिलेन गिन्सबर्गले अमेरिका शिर्षकको कवितामा लेखेका छन्,

अमेरिका,
मैले तिमीलाई सबथोक सुम्पिएँ र म रित्तिएँ,
म आफ्नै मस्तिष्कले उभिन सक्दिनँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com