अमेरिकामा हुने एनआरएनको क्षेत्रीय सम्मेलनमा नेपालबाट २१ जनालाई निमन्त्रणा


प्रकाशित मिति : श्रावण १२, २०७३ बुधबार

अमेरिकाको न्युजर्सीमा अगस्त २७ र २८ मा हुने एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट मन्त्री, कलाकार, विभिन्न प्रतिभा र पत्रकार लगायत २१ जनालाई मात्र निमन्त्रणा गरिएको आयोजकले जनाएका छन् ।

निमन्त्रणा गरिएका २१ जनाको नाम आयोजकको एक्जुकेटिभ कमिटिमा छलफल गरी अमेरिकी दूतावासमा पठाइसकिएको र त्यो बाहेकका अरुले कार्यक्रमको निमन्त्रणापत्र देखाएर भिसा आवेदन दिएमा त्यो नक्कली हुने एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले जानकारी दिनुभएको छ ।

यसैबीच एनआरएनको क्षेत्रीय सम्मेलनमा उपस्थीतिका लागि नेपाली प्रतिभा मनोजकुमार चन्दका लागि काठमाडौंमा रहेको अमेरिकी दूतावासको कन्सुलर सेक्सनलाई सम्बोधन गरेर लेखिएको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ ।

मनोज फाउण्डेशन नेपालका अध्यक्ष मनोज कुमार चन्द दुबै हात, दुबै खुट्टा, दुबै कुइनो मुखबाट र एकैसाथ ६ वटा कलमले लेख्न सक्ने प्रतिभा भएको जनाइएको छ । उनको प्रतिभालाई प्रोत्साहन गर्नका लागि आफूहरुले कार्यक्रममा उनलाई निमन्त्रणा गरेको एनआरएन अमेरिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

स्थायी घर बैतडी भई हाल काठमाडौंमा बस्दै आएका मनोजले दुईबर्ष अगाडि फाउण्डेशनको सुरुवात गरेका थिए । तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादव र तत्कालिन मुख्य सचिव लिलामणी पौडेलले पनि उनको प्रतिभाबाट प्रभावित भएको बताउँदै सहयोगको प्रतिबद्धता जनाएका थिए ।

उनैको निमन्त्रणाको विषयलाई लिएर विवाद ल्याउन खोजिएकोप्रति स्पष्टीकरण दिदै एनआरएन अमेरिकाका अध्यक्ष पौडेलले भन्नुभयो – ‘आयोजक समितिका साथीहरुसँग सरसल्लाह गरेरै निमन्त्रणापत्र पठाएका हौं । एनआरएन अध्यक्ष शेष घलेज्यू र नेपाल सरकारका अधिकारीहरुको सुझावपछि हामीले चन्दको प्रतिभाको कदर गर्दै कार्यक्रममा निम्त्याएका हौं । त्यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com