जस्तोसुकै निर्णय लिन सक्छु : दाहाल


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

चितवन, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्काे राजनीतिक अर्थ नलगाउन पनि आग्रह गर्नुभयो ।

दुई पार्टी एकीकरणका सन्दर्भमा उहाँले भन्नुभयो, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ । मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस् ।” उहाँले अगाडि थप्नुभयो, “पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु ।”

अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताउनुभएको थियो । नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आएको छ ।

उक्त खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उहाँले उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा उहाँले आउँदा दिनमा खेल क्षेत्रको विकास अझ तीव्र हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रादेशिक रुपमा यस्ता खेल हुनुले संघीयता कार्यान्वयनमा सहयोग पुग्ने पनि बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com