साथी बचाउन विद्यार्थीको चिया व्यवसाय


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

सर्मिला बुढाथोकी

दोलखा । हिजो आज सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा ३-४ जना विद्यार्थीहरू चिया बेचिरहेका भेटिन्छन् । स्कुल गएर उब्रिएको विहान बेलुकाको समय चिया बेच्नुको उनीहरूको उद्देश्य आफ्नो लागि आर्थिक संकलन भने हैन ।

हाम्रो एक जना साथी मदन केसी ब्लड क्यान्सरबाट पीडित छन्, चिया बेच्न सक्रिय आशिष चौलागाईले भने, ‘उनको उपचारको लागि सहयोग गर्न हामीले यो अभियान सुरु गरेका हौँ ।’ ‘हामी हाम्रो साथी मदनलाई बचाउँछौ’ भन्ने नाराका साथ चरिकोटस्थित गौरीशङ्कर बोर्डिङ स्कुलका विद्यार्थीहरूले सुरु गरेकोे चिया बेच्ने अभियानमा कक्षा ७ मा अध्यनरत आशिषसँगै ब्लड क्यान्सरबाट पीडित मदनकी बहिनी कक्षा ६ मा अध्यनरत मनिषा केसी, कक्षा ७ मा अध्यनरत एलिना पोखरेल लगायत सहभागी छन् ।

उनीहरूको अभियानको सुरुवात भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गरेका थिए । नगरप्रमुख केसीले चिया पिए बापत रु ५ हजार सहयोग गरेका थिए । चरिकोटको मुख्य चोकमा सुरु भएको अभियानमा चिया पिए बापत कुनै शुल्क निर्धारण गरिएको छैन् । मानिसहरू आएर चिया पिउछन् र आफ्नो गच्छे अनुसार एक सय देखि १० हजारसम्म सहयोग पेटिकामा सहयोग रकम राखिदिने गरेका छन् ।

‘यो अभियान माघ २४ गतेसम्म सञ्चालन गर्ने छाँै र उठेको रकम मदनको बुबा नारायण केसीलाई दिने छौँ’ अभियानमा संलग्न विद्यार्थी एलिना पोखरेलले भनिन् । अभियानमा सँगै रहेकी मदनकी बहिनी मनिषा केसीले साथीहरूले आफ्नो दाइको सहयोगको लागि सुरु गरेको अभियानले आफूलाई निक्कै खुसी बनाएको बताइन् । उनले सबैबाट यसैगरी सहयोग भए दाइले पुर्नजीवन पाउने कुरामा आफू आशावादी रहेको बताइन् ।

ब्लड क्यान्सर पीडित मदनको उपचारमा सहयोग गर्न गौरीशंकर बोर्डिङ स्कुलकै शिक्षक राजन बुढथोकीले विभिन्न व्यक्तिबाट सङ्कलन गरेको एक लाख ३० हजार आठ सय ७० रुपँैया प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङले पीडित केसीको बुबा नारायण केसीलाई हस्तान्तरण गरेका छन् ।

कालिञ्चोक उच्च माविमा कक्षा ९ मा अध्यनरत भीमेश्वर नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय मदन केसी एक महिनादेखि ब्लड क्यान्सरबाट पीडित भएर काठमाडौँको सिभिल अस्पतालमा उपचार गराईरहेका छन् । डाक्टरले छोराको उपचारको लागि १५ लाख भन्दा बढी खर्च लाग्ने बताएको मदनका बुबा नारायणले सुनाए । उपचारमा दैनिक ५० हजार खर्च भरहेको र आफ्नो आर्थिक अवस्था कम्जोर रहेकोले सहयोगको अपेक्षा गरेको बुबा नारायणले बताए ।

छोराको साथीहरूले सुरु गरेको अभियानले छोरा बचाउन सकिन्छ की भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ । अभियानको तेस्रो दिनसम्म झण्डै २ लाख संकलन भएको अभियानमा विद्यार्थीलाई साथ दिँदै आएकी गौरीशङ्कर बोर्डिङ स्कुलकी शिक्षक विन्देश्वरी खतिवडाले बताईन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com