सीमावर्ती क्षेत्रमा महिला प्रहरी थपिए


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

 

माघ १७, विराटनगर । सीमा क्षेत्रबाट हुने अवैध कार्य नियन्त्रणका लागि प्रहरीले मोरङका नेपाल–भारत सीमावर्ती क्षेत्रमा महिला जनशक्ति बढाएको छ। भारतसँगको खुला सिमानाका कारण तस्करी र अवैध धन्दा मौलाएको निष्कर्ष निकाल्दै महिला प्रहरीको उपस्थिति बलियो बनाइएको हो। यसअघि सीमा क्षेत्रमा महिला प्रहरीको संख्या न्यून थियो। महिला प्रहरीको संख्या कम हुँदा महिलालाई प्रयोग गरी हुने गरेको तस्करी, विभिन्न अवैध धन्दा र आपराधिक घटना नियन्त्रणमा समस्या परिरहेको निष्कर्ष प्रहरीले निकालेको थियो। भारतको जोगवनीसँग सिमाना जोडिएको विराटनगरको सीमा प्रहरी चौकी दुई सातादेखि महिलाकै नेतृत्वमा छ। त्यहाँ प्रमुखको जिम्मेवारी दिएर सइ मुना डाँगीलाई पठाइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले सीमावर्ती सबै युनिटमा महिला प्रहरीको संख्या थप गरेको जानकारी दिए। प्रहरीका सीमावर्ती युनिटमा महिला प्रहरीको संख्या बढाइएसँगै महिला प्रयोग गरेर हुने गरेको चोरी तस्करी र विभिन्न आपराधिक घटना नियन्त्रण सहज भएको उनले बताए। ‘सीमावर्ती क्षेत्रमा महिला प्रहरीको संख्या अत्यन्तै कम थियो’, उनले भने, ‘सीमाजस्तो संवेदनशील क्षेत्रमा अहिले जिम्मेवारी दिएर महिला प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ।’

उनका अनुसार पुरुष र महिला प्रहरीको संयुक्त टोलीले सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ। विशेषगरी नेपालबाट भारततर्फ सुपारी र मरिच तस्करी हुने गरेको छ। भारतबाट नेपालतर्फ औषधि र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री अवैध रूपमा भित्रिने गरेको छ। ‘सुपारी र मरिच तस्करीमा महिलाको प्रयोग बढेपछि नियन्त्रणका लागि सीमा क्षेत्रमा ठूलै चुनौती थियो’, रानी इलाका प्रहरीका इन्स्पेक्टर सन्तोष निरौलाले भने, ‘महिला प्रहरीको उपस्थिति बढाइएसँगै तस्करी नियन्त्रणमा सजिलो भएको छ।’

उनका अनुसार शरीरमा लुकाएर एक महिलाले पाँचदेखि सात किलोसम्म सुपारी र मरिच भारत पुर्‍याउँछन्। उनीहरू दैनिक तस्करीको मरिच र सुपारी बोकेर १० पटकसम्म नेपाल–भारत ओहोरदोहोर गर्छन्। भने, ‘पुरुषलाई महिलाको शरीर खानतलासी गर्न समस्या थियो। तस्करी गर्ने महिलालाई नियन्त्रण गर्न खोज्दा उल्टो आरोप भोग्नुपर्ने अवस्था थियो।’

सीमावर्ती क्षेत्रमा लागुऔषध सेवन र ओसारपसार गर्ने महिलाको संख्या पनि बढ्दै गएको निष्कर्षमा प्रहरी पुगेको छ। उनीहरूलाई नियन्त्रणमा लिन पनि महिला प्रहरीको संख्या थप गर्नुपरेको एसपी बीसीले बताए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com