६ वर्षमा इन्धनको सञ्चिती शून्य हुने निश्चित


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

अहिलेकै जसरी इन्धनको माग बढ्दै गए भण्डारण क्षमता सञ्चिती आगामी ६ वर्षमा शून्यमा पुग्ने भएको छ। हाल मासिक २० प्रतिशतका दरले इन्धनको माग बढिरहेको छ। नेपाल आयल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण गर्न सक्ने भण्डार गृह छ।

तर, प्राविधिक दृष्टिकोणले त्यस परिमाणमध्ये करिब १० प्रतिशत इन्धन वर्षैभरि ट्यांकीमै मौज्दात अन पम्पेवल गरी राख्नुपर्छ। ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत अन पम्पवेल काटेर बाँकी ६५ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ। यही ६५ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ। इन्धनको माग बढ्दै जाने र त्यो अनुपातमा भण्डार गृहको क्षमता विस्तार नभए आगामी आर्थिक वर्ष २०८०÷८१ मा भण्डारण क्षमता शून्यमा झर्ने निगमले आँकलन गरेको छ। ग्यासको भण्डारण गृह निगमसँग शून्य छ।

‘यसरी माग बढ्दै जाने हो र भण्डारण क्षमता विस्तार नगर्ने हो भने अबको ६ वर्षमा भण्डारण क्षमता शून्यमा झर्नेछ’, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘यो विषयलाई संवेदनशील भएर समयमै सोच्न आवश्यक छ।’

विकास निर्माण, सवारीसाधनको बढ्दो चाप, उद्योगमा हुने खपतका साथै प्रदेश सरकार निर्माण हुँदा सवारीसाधनको संख्या थपिनुका साथै विकास निर्माण पनि अत्यधिक गतिमा बढ्ने भएकाले सोहीअनुपातमा इन्धनको मागसमेत थपिने निगमको ठहर छ।

उनका अनुसार आगामी ६ वर्षको वृद्धिदरलाई आधार मान्दा ९० दिन ३ महिना लाई पुग्ने गरी कम्तीमा १० लाख किलोलिटर इन्धनको र दुई लाख १० हजार मेट्रिक टन खाना पकाउने एलपीजी ग्यासको मासिक भण्डारण क्षमताको भण्डार गृह निर्माण गर्नुपर्ने आवश्यक छ।

भट्टराईका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा मासिक पेट्रोलको माग ७४ हजार किलोलिटर, डिजेल दुई लाख २१ हजार किलोलिटर, मट्टीतेल दुई हजार पाँच सय किलोलिटर र हवाई इन्धन तीन ३५ हजार किलोलिटरमा पुग्नेछ।

यसरी त्यो वर्षको मासिक कुल इन्धनको माग तीन लाख ३३ हजार किलोलिटरमा पुग्नेछ। अहिले मासिक २० प्रतिशतले माग वृद्धि भएर पेट्रोल ३८ हजार किलोलिटर, डिजेल एक लाख २५ हजार किलोलिटर, मट्टीतेल एक हजार आठ सय किलोलिटर र हवाई इन्धन १८ हजार किलोलिटर मासिक खपत भइरहेको छ।

निगमका अनुसार विद्यमान भण्डार क्षमताबाट पेट्रोल पाँच दिन, डिजेल ६ दिन, हवाई इन्धन आठ दिन र खाना पकाउने ग्यास तीन दिनका लागि मात्रै सञ्चिती हुने अवस्था छ। इन्धनको बढ्दै गएको मागलाई ध्यानमा राखेर सरकारको निर्देशनमा गत आर्थिक वर्षमा निगमले ९० दिन ३ महिना पुग्ने गरी पाँच लाख ३० हजार तीन सय २० किलोलिटरको भण्डारण क्षमताको भण्डारण गृह निर्माण गर्ने खाका तयार गरी योजनालाई अगाडी बढाएको थियो। यो समाचार अन्नपुर्ण पोष्टले लेखेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com