शिविरमा झन् जोखिममा महिला


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला झन् बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’

कुमार लुइटेल

विराटनगर । बाढीले घर बगाएपछि मोरङ डायनियाकी आसमा खातुन आफ्ना लालाबाला च्यापेर पन्ध्र दिनसम्म पालमुनि बस्नुप-यो । ०७३ साउन पहिलो साता बक्राहा खोला हसन्दहको जयनगरमा बाँध भत्काएर गाउँतर्फ पस्दा खातुनको घर पनि बाढीमा डुब्यो । लत्ताकपडा, अन्नपात र भएको जायजेथा सबै डुबेपछि आत्तिँदै उनी लालाबाला च्यापेर सडककिनारमा उक्लिन् । जसोतसो ज्यान त बचाइन्, तर एकसरो लुगामा पालमुनिको बास उनका लागि शारीरिक र मानसिक रूपमा निकै पीडादायी बन्यो ।

खातुनले भनिन्, ‘पाँच दिन पाँच रातसम्म त लगातार पानी परिरह्यो, साना नानीहरूलाई जोगाउन धेरै नै कठिन भयो । फेरि हामी महिलालाई पालमा बस्नुपर्दा आङ ढाक्ने र सुरक्षित रहने भन्ने धेरै चिन्ता हुँदोरहेछ ।’ शारीरिक र मानसिक रूपमा थकित बनेकी उनलाई एक हप्तासम्म त निद्रै परेन । पछि राहत दिनेहरूले कपडाको समेत जोहो गरिदिएपछि भने सजिलो भयो । उनका छोराछोरी र टोलका केटाकेटी लुगैबिना हप्तादिनसम्म पालमा बसेका थिए ।

मोरङ अमरदह– २ सुगाबजार र आसपासको क्षेत्र एक सातासम्म जलमग्न हुँदा विशेषगरी महिला र किशोरीलाई ठूलो समस्या प-यो । केही टोलमा महिला र किशोरीले बाढीको बेलामा पनि आफ्नो घरको रेखदेख गरे । बाढी घटेपछि घरभित्र पसेको हिलो र लेदो सफाइ गर्ने कामको चटारो महिलाकै काँधमा आइप-यो । अहिले पनि बारी र आँगनमा जमेको बालुवा पन्छाउन उनीहरूलाई सास्ती छ ।

सुगाबजारकी देवकला घिमिरे बाढीले घर डुबाएपछि नजिकै छिमेकीकोमा शरण लिन पुगिन् । डेढ वर्षको नाति काखमा च्यापेर बुहारीलाई साथै लिएर उनले छिमेकीको सिकुवामा थुप्रै रात बिताउनुप-यो । ‘सास मात्र अड्याउनका लागि भए पनि छिमेकीको शरणमा पुग्यौँ,’ उनले भनिन्, ‘सानो नाति लिएर बस्न बुहारीलाई झनै समस्या भयो । बुहारी र नाति जोगाउन हम्मेहम्मे भएको थियो ।’ सर्पको बिगबिगीले उनीहरूलाई फेरि फर्किएर घरमै पुनस्र्थापित हुँदा डसेर मार्ला भन्ने पीर परिरह्यो । अहिले बुहारी र नातिलाई माइती पठाइदिएको घिमिरेले बताइन् ।

बाढीका बेला मोरङ हसन्दहकी मीना राजवंशीको मुखमा अन्न नपरी पाँच दिन बित्यो । बक्राहा खोलाले बाँध फुटाएर बस्तीतर्फ उर्लिएकै दिनदेखि उनी र परिवार भोकभोकै हुनुप¥यो । बाढीको पानी नघटुञ्जेल उनीहरूले जाउलो पनि पाएनन् । भर्खरै कलेज पढ्दै गरेकी मीनाका लागि यो बर्खाको बाढीको पीडा असह्य थियो । ‘तर, विपत् आएपछि भाग्न नसकिने रहेछ,’ उनले भनिन्, ‘घर नै डुबेर आहाल बनेपछि नजिकैको विद्यालयमा आश्रय लिनुप¥यो । महिलालाई समूहमा सुत्न–बस्न निकै सकस भयो ।’ मीना बस्ने राजवंशी टोलका धेरै महिला र किशोरी नजिकैको विद्यालयमा शरण लिन पुगेका थिए । टाँडेघर भएका कतिपयले भने बरु घरमै मरिन्छ भने मरियोस् भनेर आँट गरेरै बसे । लुगाफाटोसमेत बाढीले पुरेपछि धेरै महिला र युवती भिजेकै लुगा लगाएर बस्न विवश थिए ।
खोलो गाउँतिर फर्किएपछि बाढीले गोठ पनि डुबाउँदा वस्तुभाउको ठूलो बिचल्ली भएको थियो । हजारौँ बिघा धानखेत बगर बनेको छ । बक्राहाले हसन्दह– ३ जयनगरबाट बाँध फुटाएर पश्चिम मानवबस्तीतर्फ पस्दा अमरदह १, २ र ९, हसन्दह ३ र ५, डायनिया तथा गोविन्दपुरका धेरै वडा डुबानमा परेका थिए । हसन्दह–२ का वीरेन्द्र ऋषिदेवले भने, ‘घर पानीमा डुबेपछि छोरी र श्रीमती लिएर विद्यालयमा आएर बस्यौँ, केही पनि सम्पत्ति बचेन ।’ महिलालाई लिएर सार्वजनिक स्थलमा बस्न निकै गाह्रो हुने गरेको ऋषिदेवले बताए ।

नेपाल रेडक्रस सोसाइटी विराटनगर शाखाका प्रमुख कमल कोइरालाले बाढीमा महिला, बालबालिका र किशोरीलाई निकै समस्या हुने भएकाले राहत वितरण गर्दा उनीहरूलाई प्राथमिकतामा राखिएको बताए । कोइरालाले भने, ‘सबै जायजेथा बाढीमा डुबेका महिलाका लागि कपडासहितका राहत सामग्रीको पनि जोहो गरियो ।’ रेडक्रसले बाढीपीडितका लागि भाँडावर्तनदेखि खानेकुरासम्म वितरण गरेको उनको भनाइ थियो ।

अविरल वर्षाले मोरङको हुलाकी मार्गमा पुल र बाटो नै बगाइदियो । विराटनगर–रंगेली–डाइनिया हुलाकी सडकखण्डअन्तर्गतको भेडुवा पुल बग्दाको असर अहिले महिला तथा गृहिणीलाई परेको छ । सरसामान बिक्री गर्न डायनिया हुँदै रंगेलीसम्म आउनेहरूका लागि अहिले निकै समस्या छ । डायनियाकी देवकी साहले भनिन्, ‘हामी सागसब्जी बेच्न रंगेली र विराटनगरसम्म पुग्ने गरेका थियौँ, तर बाटो नै नहुँदा अहिले दैनिक जीवनयापनका लागि हुँदै आएको आम्दानीसमेत गुमाउनुपर्ने अवस्था छ ।’
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय समस्यामा परेका पीडितलाई पर्याप्त मात्रामा राहत वितरण गरिएको र खेत डुबानमा परेका किसानलाई राहत दिलाउन पहल गरिएको बताउँछन् । मानव अधिकारवादी इन्सेक पूर्वाञ्चलका संयोजक सोमराज थापा खासगरी विपत्का बेला महिला तथा किशोरीहरू अझ धेरै पीडामा पर्ने गरेको र उनीहरूलाई बढी संरक्षण आवश्यक पर्ने बताउँछन् । थापा भन्छन्, ‘बाढीबाट विस्थापित भई शिविर तथा अन्यत्र बस्दा महिला बढी जोखिममा पर्ने भएकाले उनीहरूको आधारभूत संरक्षणका लागि प्रयास हुनुपर्छ ।’ (सञ्चारिका फिचर सेवा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com