बैतडी दार्चुला जोड्ने सडक ३२ वर्षमा ९ किमि निर्माण


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

माघ १४,बैतडी । बैतडी दार्चुला जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको सिल्लेगडा कटौजपानी रुद्रेश्वर देथला खलंगा सडक निर्माण कार्यको गति सुस्त बनेको छ । निर्माण कार्य सुरु भएको ३२ वर्षमा नौ किलोमिटर मात्रै सडक खनिएको छ । २०४३ सालतिर निर्माण कार्य सुरु गरिएको सडकमा सुरुमा बजेट विनियोजन नहुँदा र पछिल्ला समय स्थानीयबीच विवाद हुँदा सडक निर्माण कार्य अघि बढ्न नसकेको डिभिजन सडक कार्यालय पाटन बैतडीका इन्जिनियर अर्जुन पौडेलले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७०र७१ मा मात्रै सो सडकमा चार करोड रकम विनियोजन भएको थियो । १८ किलोमिटर सडक खन्न ठेक्का पनि भएको थियो । तर, कुन ठाउँबाट सडक लैजाने भन्ने विषयमा स्थानीयबीच विवाद हुँदा काम अघि बढ्न सकेन् ।’

दोगडाकेदार गाउँपालिका कालागाउँका स्थानीय र पुरचौंडी नगरपालिका गोरागाउँका स्थानीयबीच सडक कुन गाउँबाट लैजाने भन्ने विषयमा विवाद हुँदा दुई वर्षसम्म सडक निर्माणको काम अघि बढ्न नसकेको निर्माण कम्पनी चन्द्रा एन्ड वसन्त जेभी ग्वाल्लेकका प्रतिनिधि सुरेश चन्दले बताए । उनले भने, ‘अहिले ठेक्काको म्याद पनि सकिएको छ । भर्खर ६ महिनाका लागि म्याद थप भएको छ । स्थानीयबीच देखिएको विवाद सुल्झेको भन्ने मैले सुनेको छु, सर्वे सकिएलगत्तै काम सुरु गर्छु ।’

लामो समयको विवादपछि सडकका विषयमा सहमति भएको र सर्वेको काम भइरहेको इन्जिनियर पौडेलले बताए । उनले भने, ‘वैकल्पिक मार्गका रूपमा रहेको सडक निर्माण सुरु भएको २८ वर्षसम्म केन्द्रबाट बजेट नै आएन । बजेट आएपछि पनि काम नहुँदा समस्या भएको छ ।’

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण भएर सञ्चालनमा आयो भने दार्चुला जोड्ने मार्गको रूपमा सिल्लेगडा(कटौजपानी(रुद्रेश्वर(देथला(खलंगा सडक हुनेछ । तर, यो सडक निर्माणमा राज्यको ध्यान नगएको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले बताए । उनले भने, ‘यति महत्वपूर्ण सडकमा समयमै बजेट छुट्याइएन । बजेट विनियोजन भएपछि पनि काम भएन । यसले गर्दा नागरिकमा निराशा छाएको छ ।’

दोगडाकेदार गाउँपालिका कटौजपानीका प्रताप महरा सो सडक निर्माण कार्य सुरु हुँदा जन्मेका नै थिएनन् । अहिले उनी ३६ वर्ष भइसक्दा पनि पनि जम्मा नौ किलोमिटर मात्रै सडक निर्माण हुँदा उनी अचम्भित भएका छन् । ‘पहिला त बजेट थिएन तर पछिल्लो दुई वर्ष यता बजेट आएर पनि समयमा काम हुँदैन, यस्तो प्रवृत्तिले नागरिकको विकासमा कहिले पहुँच पुग्ला ? ’

सिल्लेगडा(कटौजपानी(रुद्रेश्वर(देथला(खलंगा सडक निर्माणाधीन चमेलिया जलविद्युत् आयोजना पुग्ने वैकल्पिक र छोटो मार्ग पनि हो । देथलादेखि दार्चुला सदरमुकाम जोड्ने भएकाले यो सडकलाई बैतडी दार्चुला जोड्ने छोटो सडकको रूपमा लिइन्छ । यो सडक निर्माण भएमा तीन वटा स्थानीय तह सडक सञ्जालमा जोडिनेछन् । तर, सडक निर्माणका लागि सम्बन्धित निकायले नै चासो नदिँदा सडक निर्माण कार्य अलपत्र परेको स्थानीय बताउँछन् ।

बैतडीको सिल्लेगडादेखि दार्चुलाको खलंगासम्म एक सय १५ किमि लम्बाई रहेको सो सडकको ९० किमिसम्मको डीपीआर र ४० किमिको वातारणीय प्रभाव मूल्यांकन भएको छ । चालु आवमा सिल्लेगडादेखि ६ किमि र दार्चुलाको कर्कलेदेखि ६ किमिका लागि कालोपत्रे गर्ने कार्य सुरु हुने इन्जिनियर पौडेलले बताए । उनले भने, ‘यो सडकलाई हामीले फिडर मार्गका रूपमा लिएका छौं । सकेसम्म काम अघि बढाउने तयारीमा छौं । कालोपत्रेका लागि ३५ करोड रकम विनियोजन भएको छ ।’

निर्माणाधीन सिल्लेगडा कटौजपानी रुद्रेश्वर देथलाखलंगा सडकखण्ड

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com