४ करोडभन्दा बढी लागतमा बनेको शीतभण्डारण प्रयोगमा नआउदा किसान मर्कामा


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

 

माघ १३ इलाम, –६ वर्ष अघि कृषि सामग्री भण्डाराण गर्न निर्माण गरिएको शीतभण्डारले इलामका किसानलाई नै समस्या भएको छ ।

भारतीय दुतावासको साढे चार करोडभन्दा बढीको लागत र नेपाल सरकारको एक करोडभन्दा बढी लगानीमा ६ वर्षअघि निर्माण भएको नेपाल भारत मैत्री शीतभण्डारले किसानको खेतीयोग्य जमिन मासिदिएको स्थानीयको गुनासो छ ।

 

काठमाडौंका जनक रिजालले दुई वर्षअघि शीतभण्डार सञ्चालन गर्न माग गर्दै तीन वर्षका लागि भवन ठेक्का लिएका थिए । तर ठेक्कावालाले सम्झौता अवधि तीन वर्षको भए पनि झण्डै दुई वर्ष मात्र काम गरे ।

अवधि सकिनुभन्दा साढे एक वर्ष अगाडि नै शीतभण्डार चलाउन नसक्ने जानकारी नगरपालिकालाई दिएपछि अहिले भण्डार खाली रहेको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाँईले जानकारी दिए ।

दुई हजार मेट्रीक टन अटाउने शीतभण्डारको पाँच तले भवन अहिले इलाम नगरपालिकाका लागि टाउको दुखाइको विषय बनेको छ ।

स्थानीयको आवश्यकतालाई विचार नगरी भण्डार निर्माण गरिएकाले समस्या आएको स्थानीय दिपेश अधिकारीको बताउछन् ।

‘केही होला की भनेर भण्डारमा किवी र सुन्तला राख्यौँ’, अधिकारीले भने, ‘भण्डारण गरिएका सामान आधाभन्दा बढी भण्डारणस्थलमै कुहिएपछि कुनै किसानले पनि कृषिसामग्री भण्डारण गर्न नमानेपछि ठेकेदार समस्यामा परेका थिए ।’

‘भण्डारको मेसिनमा समस्या आएकाले भवन अहिले सञ्चालनमा नआएको हो’, इलाम नगरपालिकाका इञ्जिनियर गुरागाँई भन्छन्, ‘अहिलेको ठेकेदारले छोडे पनि अर्को व्यवस्था गरेर सञ्चालनमा ल्याउने तयारी सुरु गरेका छौं ।’

इलाम नगरपालिका–९, सेरामा रहेको शीतभण्डारको काम २०६८ सालको चैत्रमा सकिएको थियो । निर्माणसकिए पनि भवन लामो समयसम्म सञ्चालनमा आएको थिएन् ।

निर्माण भएर पनि सञ्चालनमा नआएपछि शीतभण्डारका कतिपय मेसिनमा समस्या आएको थियो । मर्मत गरेर सञ्चालन सुरु गरे पनि कतिपय सामग्रीमा समस्या यथावत रहेको गुरागाँईको भनाइ छ ।

भण्डारमा भारतीय दुतावासले ४ करोड ३९ लाख तीन हजार रुपैयाँ अनुदान दिएको थियो । नेपाल सरकारले ६३ लाख २३ हजार र इलाम नगरपालिकाले ४७ लाख ४० हजार लगानी गरेको छ ।

भण्डार चलाउन अब थप एक करोड खर्च लाग्ने २०७० चैत्र ६ मा इञ्जिनियरसहितको टोलीले तयार गरेको लागत स्टीमेटमा उल्लेख छ । वर्षमा विद्युत, मेसिनलगायतको खर्च नै ३६ लाख भन्दा बढी हुने नगरपालिकाले अनुमान गरेको छ ।

आफैमा चिसो इलाम, आलु भण्डारणका लागि शीतभण्डार नै आवश्यक नहुने व्यवस्थापकीय योजनाको तर्क छ । इलामे किसानले राख्न सक्ने किवी फल पनि ६ महिनासम्म घरमै भण्डारण गर्न सक्ने किसानहरु बताउछन् । । अदुवा, अलैँचीलगायतका उत्पादन शीतभण्डारमा राख्न सकिँदैन ।

शीतभण्डारमा उच्च कम्प्रेसर मेसिन जडान भएकोले विस्फोटन र एमोनीया ग्यास चुहावटको खतरासमेत उत्तिकै भएको प्राविधिकको भनाइ छ ।

‘भित्री भागमा ग्यास चुहावट भएमा भण्डारण गरेको बस्तु सबै नष्ट हुन सक्ने, व्यवस्थापकीय योजना २०६९ मा उल्लेख छ । सञ्चालनका लागि प्रतिवेदनका ठेली निर्माण भए पनि अझै कार्यान्वायनका लागि कुनै पहल नचालिएकाले किसान मर्कामा परेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com