बालुवा खानी व्यवसायी बालुवा चोरी रोक्न आन्दोलनमा उत्रिने


प्रकाशित मिति : माघ १०, २०७४ बुधबार

माघ १०, भक्तपुर । भक्तपुरबाट अवैध रुपमा बालुवा तथा माटो चोरी निकासी बढेपछि बालुवा खानी व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । बालुवा तथा माटोको चोरी निकासी रोक्न प्रहरी प्रशासन तथा नगरपालिका असफल भएको निष्कर्ष निकाल्दै व्यवसायीहरु आफैँ आन्दोलनमा उत्रिने भएका हुन् ।

बालुवा खानी व्यवसायी संघर्ष समितिका अध्यक्ष विदुर आलेले प्रहरी प्रशासन, जिल्ला समन्वय समिति र नगरपालिकामा पटकपटक खानी क्षेत्रबाट बालुवा तथा माटो चोरी हुने गरेको जानकारी दिँदा पनि ध्यान नदिएपछि आफूहरु आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवा खानीको फाइल लगेको बहानामा तत्कालीन जिल्ला विकास समितिले खानी सञ्चालनमा रोक लगाएको थियो । भूकम्प आउनुअघि २०७२ साल वैशाखमा अख्तियारले भक्तपुरमा सञ्चालित २६ वटा खानीको फाइल जिल्ला विकास समितिबाट नियन्त्रणमा लिएको थियो ।

अनधिकृत रुपमा बालुवा खानी सञ्चालन भएको, बालुवा खानीबाट प्रहरी प्रशासन तथा जिविसमा आउने स्थानीय विकास अधिकारीले अनियमित रुपमा आर्थिक लाभ लिने तथा खानीले स्वीकृत क्षेत्रभन्दा बाहिर बालुवा उत्खनन गर्ने गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धानका लागि खानी फाइल नियन्त्रणमा लिएको हो ।

अख्तियारले फाइल तानेका कारण आफूहरुको खानी बन्द भएको भन्दै व्यवसायीहरु अख्तियारसम्म पुगेका थिए । अख्तियारले अनुसन्धानको लागि फाइल नियन्त्रणमा लिए पनि खानी बन्द गर्न कुनै निर्देशन नदिएको जवाफ दिँदा पनि जिल्ला विकास समितिले खानी सञ्चालन स्वीकृति दिएको विरुद्ध व्यवसायीहरुले आन्दोलन गर्दै आएका थिए ।

तर स्थानीय तहको निर्वाचनसँगै सम्पूर्ण अधिकार नगरपालिकामा आएपछि व्यवसायीहरुले नगरपालिकामा पनि पटकपटक खानी सञ्चालन प्रक्रिया अघि बढाउन माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको अध्यक्ष आले बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com