सिरियाका कैयौँ गाउँहरु टर्कीको नियन्त्रणमा


प्रकाशित मिति : माघ ८, २०७४ सोमबार

टर्कीबाट प्राप्त विवरणहरुमा भनिएको छ – कुर्द लडाकुहरुलाई धपाउन टर्कीले थालेको सैन्य कारवाहीको तेस्रो दिनमा उसले उत्तर सिरियामा रहेका कैयौँ गाउँहरु नियन्त्रणमा लिएको छ।

तर कुर्द लडाकुहरुले पछि दुई वटा गाउँहरु आफूहरुले पुनः नियन्त्रणमा लिएको बताएका छन्।

सोमबार अफ्रिन क्षेत्रमा रहेका शंकाल, कोर्ने, बाली र अदाह मान्ली गाउँहरु तथा किता, कोर्दो र बिब्नोसहितका गाम्रीण भेगहरु टर्कीको सैन्यले आफ्नो कब्जामा लिएको टर्कीको राज्य-संचालित अनादोलु समाचार संस्थाले जनाएको छ।

तर ब्रिटेनस्थित पर्यवेक्षण संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ केही समयसम्म दुई पक्षबीच चलेको भीषण लडाईँका क्रममा वाईपीजीले ती दुई गाउँहरुबाट टर्कीको सैन्यलाई फिर्ता जान बाध्य पारेको थियो।

प्रतिकार
टर्कीका सीमावर्ती क्षेत्रहरुमा टर्कीको स्थल सैन्यलाई रकेट हमला गरेर प्रतिकार गरेको वाईपीजीले बताएको छ।

अफ्रिन क्षेत्रमा रहेको कुर्द लडाकू समूह वाईपीजीलाई निशानामा पारिरहेको टर्कीले उक्त समूहलाई आतंकवादी समूह भन्दछ।

उत्तर-पूर्वी सिरियाको धेरैजसो भागहरु नियन्त्रणमा लिएको उक्त समूह-वाईपीजी, टर्कीमा दशकौँदेखि स्वायत्ताका लागि विद्रोह गरिरहेको कुर्दिस्तान वर्कश पार्टी-पीकेके समूहको बिस्तारित रुप भएको टर्कीले ठान्दछ।

तर सिरियामा ईस्लामिक स्टेट जिहादीहरु विरुद्ध लडिरहेको वाईपीजीले पीकेके समूहसँग उसको कुनै पनि खाले प्रत्यक्ष सम्बन्ध भएको अस्वीकार गर्दै आएको छ।

संयुक्त राज्य अमेरिकाले वाईपीजीलाई समर्थन गरेको भन्दै अंकाराले निन्दा गर्दै आएको छ।

सिरियाली द्वन्द्वमा विकसित पछिल्लो घटनाक्रमले उसको नेटो साझेदार अमेरिकासँग टर्कीलाई टकरावको स्थितिमा पुर्‍याएको छ।

सिरियाली सरकार तथा उसका साझेदारहरु ईरान र ईजिप्टले टर्कीले गरेका हमलाहरुको भत्सर्ना गरेका छन्।

यसबारे संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बस्दै छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com