दसैँमा उपहार दिँदै हुनुहुन्छ ? पक्राउ पर्नुहोला !


प्रकाशित मिति : आश्विन १६, २०७३ आईतबार

दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होसियार, खोरमा थुनिनु पर्ला । विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको छ ।

यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनु/दिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बता । ‘प्रहरीले यस्तो कुरा लिनै मिल्दैन,’ उनले भने, ‘यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ ।’

उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन् । महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको गोरखापत्रमा खबर छ ।महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो ।

यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com